सुरक्षाकर्मीको हुर्मत लिने कार्य भयो, दुबै दिनको घटनाको छानविन गरी दोषीलाई कारबाही होस् : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको जीउधनको सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षाकर्मीको हुर्मत लिने कार्य भएको भन्दै आफू मर्माहत भएको जनाएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै देउवाले भने, ‘त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको छ ।’
उनले दुबै (भदौ २३ र २४ गते) दिनका घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग माग गरेका छन् । देउवाले भदौ २३ गतेको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा अर्कै रुप लिएको बताए । जसका कारण निर्दोष नवयुवकहरूले ज्यान गुमाउनु परेको सभापति देउवाले बताएका छन् ।
उनले भने, ‘गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो निर्दोष नवयुवकहरुको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ ।’
‘भाद्र २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय पालिका भवनहरू, वडा कार्यालय, जस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरू र राजनैतिक दलका विभिन्न कार्यालयहरू, नेताहरूको निजी घर डेरा, संचार गृह लगायत व्यवसायिक तथा व्यापारिक प्रतिष्ठानहरुमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो,’ देउवाले भने, ‘यसबाट अकल्पनीय जनधनको क्षति भयो । सम्भवत यो नेपालको ईतिहासमै एउटा डर लाग्दो दिनको रुपमा लिपिबद्द हुनेछ ।’
सभापति देउवाले विराटनगरमा कोइराला निवास, चाक्सीबारीमा गणेशमान सिंह निवास, बाडेगाउँमा किशुनजी आश्रम, पार्टी कार्यालयहरू, निजी सम्पत्ति तोडफोड, लुटपाट, आगजनी भएको भन्दै घटनाको छानविन माग गरे ।
‘हाम्रो पार्टीको केन्द्रीय कार्यालय सहित ४८ जिल्लाका कार्यालय र करिव १ सय २५ जना नेता साथीहरूको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको छ,’ देउवाले भने, ‘नेपालको प्रजातान्त्रिक क्रान्ति, संघर्ष र आन्दोलनका ऐतिहासिक स्थान विराटनगरको कोइराला निवास, काठमाडौं चाक्सीवारीको गणेशमान सिंह निवास र ललितपुर बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले झन् मर्माहत भएको छु ।’
सभापति देउवाले भने, ‘यी दुबै दिनका घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया