मुलुक संकटमा रहेका बेला थापा-शर्माले कांग्रेसलाई राष्ट्रिय राजनीतिको मूल विषयमा प्रवेश गर्नै दिएनन्

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय राजनीतिको मूल विषयमा प्रवेश गर्न नसक्दा कार्यकर्ताहरूमा अन्यौता छाएको छ ।

भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शनपछि कांग्रेसले नेतृत्वदायी भूमिका निभाएर अगाडि बढ्नुपर्ने थियो । तर, राष्ट्रिय राजनीतिमा भन्दा पनि कांग्रेसमा धमिलो पानीमा माछा मार्ने प्रयासहरू भइरहेका छन् । जेनजी आन्दोलनको बहानामा अहिले नै नेतृत्व हत्याउन सकिन्छ की भनेर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लागेका छन् । उनीहरू देश र जनताका लागि आफूहरूको दायित्वबाट बिमुख भएका छन् । भदौ २४ गतेको हिंसाबाट मानिसहरू त्रसित छन् । नेपाल प्रहरीको मनोबल कमजोर बनेको छ । जनता र प्रहरीका लागि कांग्रेसले उपयुक्त कदम चाल्नु पर्ने थियो । कांग्रेसले त्यो कार्य गर्न सकेको छैन ।

राष्ट्रिय राजनीतिको मुद्दामा कांग्रेसले सहमतिका साथ धारणा राख्नु पर्ने थियो । पदाधिकारी र पूर्वदाधिकारी तथा कार्यसम्पादन समितिको बैठकमा राष्ट्रय राजनीतिको विषयमा केन्द्रित हुनु पर्ने थियो । ती दुबै बैठक विशेष महाधिवेशनमा मात्रै केन्द्रित भयो । राष्ट्रिय राजनीतिले स्थान नै पाएन । महामन्त्रीद्वय थापा र शर्माका भिडियो सन्देश, वक्तव्यहरूमा पनि राष्ट्रिय राजनीतिले ठाउँ नै पाएनन् । उनीहरू आफ्नो स्वार्थभन्दा बाहिर जान सकेनन् ।

महामन्त्रीद्वय थापा र शर्माले राष्ट्रिय राजनीतिका विषयमा एजेण्डा नै प्रस्तुत गरेनन् । कांग्रेस माघ २१ गतेको मध्यावधि निर्वाचनमा सहभागी हुन्छ वा संसद पुनर्स्थापनामा जान्छ अहिलेसम्म औपचारिक धारणा दिन सकेको छैन । कांग्रेसले सडक आन्दोलन गर्ने हो की होइन त्यो पनि स्पष्ट छैन । महामन्त्रीद्वय थापा र शर्माका कारण कांग्रेस अन्यौलमा छ । थापा र शर्माले सबैभन्दा पहिला राष्ट्रिय राजनीतिलाई निकास दिन एजेण्डा फाल्नु पर्ने थियो । त्यसपछि नेतृत्वमा दाबी गर्नुपर्ने थियो ।

भदौ २४ गते सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाको हत्या प्रयास भएको थियो । घरमै सांघातिक आक्रमण भएपछि देउवा दम्पत्ति उपचारमा छन् । उनीहरू सार्वजनिक भएका छैनन् । सभापति देउवाले केन्द्रीय कार्यसमितिमा राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयमा सहमतिको साझा धारणा बनोस् भन्ने चाहना राखेका छन् । सोही चाहनाका कारण देउवाले केन्द्रीय कार्यसमितिको बैठकलाई दुई दिन पछाडि धकेलेका छन् ।

देउवाले १५औँ महाधिवेशनपछि आफू कांग्रेसको नेतृत्वमा नआउने भनिसकेका छन् । दुई महिनापछि देउवाले महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने प्रकृयामा रहेका बेला थापा र शर्माले किन राष्ट्रिय राजनीतिमा कांग्रेसलाई प्रवेश नै गर्न दिएनन् ? प्रश्न उठेको छ ।

सभापति देउवा उपचाररत रहेका बेला महामन्त्रीद्वय थापा र शर्माले राष्ट्रिय राजनीतिका लागि प्रस्तावहरू ल्याउनुपर्ने थियो । ती प्रस्तावमा छलफल गरेर साझा धारणा सार्वजनिक गर्नुपर्ने थियो । असोज २८ गतेबाट शुरु हुन लागेको केन्द्रीय कार्यसमितिको बैठकमा राष्ट्रिय राजनीतिको विषयले प्राथमिकता पाउने सम्भावना निकै कम छ । किन भने महामन्त्री थापा र शर्मालाई अहिले नै सभापति देउवालाई हटाएर कांग्रेसको नेतृत्व हत्याउन हुटहुटी जागेको छ ।

महामन्त्रीद्वय थापा र शर्माले सबैभन्दा पनि पहिला राष्ट्रिय राजनीतिमा आफूहरूलाई केन्द्रित बनाउनु पर्ने थियो । भ्रातृ संस्थाहरूलाई शान्तिपूर्ण तरिकाले परिचालन गर्नुपर्ने थियो । महामन्त्री थापा र शर्माले नेपाल तरुण दल र नेविसंघलाई मैदानमा जानै दिएनन् । रोकेर राखेका छन् । उनीहरूले राष्ट्रिय राजनीतिलाई सहि बाटोमा ल्याएर कांग्रेसको नेतृत्व लिनका लागि पहल गर्नुपर्ने थियो । यो नै उपयुक्त विकल्प हो । थापा र शर्माले व्यक्तिगत स्वार्थलाई सबैभन्दा ठूलो महत्व दिएका छन् ।

महामन्त्री थापा आफू नै संयोजक रहेको क्रियाशील विवाद समाधान समितिले जिम्मेवारी पूरा गरेको छैन । करीव २५ जिल्ला बहेक अरु सबै जिल्लामा क्रियाशील सदस्यताको विवाद कायम छ । कांग्रेसमा नयाँ नेतृत्व भन्ने आफूलाई नयाँ र युवा भन्न रुचाउने महामन्त्री थापा र शर्माले क्रियाशील सदस्यताको विवाद समाधान नै नगरी पुरानै महाधिवेशन प्रतिनिधिहरूबाट नेतृत्व हत्याउन खोज्नु कति जायज छ ?

महामन्त्रीद्वय थापा र शर्माको गतिविधिले दुई महिनापछि शुरु हुन लागेको नियमित महाधिवेशनलाई प्रभावित तुल्याउन प्रयास गरिरहेको आरोप छ । उनीहरूले विशेष महाधिवेशनका लागि दवाव दिइरहेका हुन् । हस्ताक्षर अभियान चलाएका छन् । उनीहरूको हस्ताक्षर अभियान पनि केही जिल्लामा बाहेक अन्य जिल्लामा खासै राम्रोसँग अगाडि बढ्न सकेको छैन । केही जिल्लामा झुक्काएर र दवाव दिएर हस्ताक्षर गराइएका छन् । दवावमा गराइएका हस्ताक्षरकर्ताहरूले विज्ञप्ति जारी गरेर फिर्ता लिइरहेका छन् ।

Published : Monday, 2025 October 13, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया