जनमतले आफ्नै मुख्यमन्त्री फिर्ता बोलाएर सरकार ढलेपछि कांग्रेसका यादवलाई प्रस्ताव

वीरगञ्ज । मधेस प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रस्ताव गरिएको छ ।

बिहीबार प्रदेश प्रमुख कार्यालय, जनकपुरधाममा नयाँ सरकार गठनका लागि तीन दलले संयुक्त रूपमा दाबी पेस गरेका हुन् । कांग्रेस, एमाले र जनमत पार्टीले कांग्रेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा दाबी प्रस्तुत गरेका हुन् । जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीले फिर्ता बोलाएर आफ्नै सरकार ढालेको थियो । त्यसपछि कांग्रेसले मधेस प्रदेशमा सरकार बनाउन लागेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि औपचारिक दाबी पत्र बुझाइएको छ ।

मुख्यमन्त्रीमा प्रस्तावित यादवलाई एमालेका २३, कांग्रेसका २२ र जनमत पार्टीका १३ गरी कुल ५८ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सदस्यको बहुमत आवश्यक पर्छ । गठबन्धनसँग स्पष्ट बहुमत रहेको दाबी पत्रमा उल्लेख छ ।

प्रदेश प्रमुख कार्यालयमा बुझाइएको पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, कांग्रेस संसदीय दलका नेता यादव र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

Published : Wednesday, 2025 October 8, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया