नयाँ पुस्ताको स्वरमा ‘सिन्धुली गढी घुमेर हेर्दा…’

काठमाडौं । सिन्धुलीको ऐतिहाँसिक पहिचान बोकेको गीत फेरि एकपटक पुनः जीवन्त बनेको छ ।

करीव ४६ वर्षअघि, सन् १९७९ अर्थात् २०३६ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको “सिन्धुली गढी घुमेर हेर्दा…” बोलको गीतले त्यतिबेला प्रथम पुरस्कार जितेर देशभर ख्याती कमाएको थियो ।

शब्द, संगीत र स्वर तीनै पक्षलाई स्वर्गीय कृष्णविक्रम थापाले दिएका यस गीतलाई अहिले फेरि नयाँ पुस्ताको स्वरमा पुनः सार्वजनिक गरिएको हो ।

यसपटक गीतलाई स्व.थापाका जेठा पुत्र राजु थापाले आफ्नै स्वरमा उतारेका छन् । बुबाले सिर्जना गरेको धरोहरलाई निरन्तरता दिने हेतुले पुत्रले प्रस्तुत गरेको यस गीतको छायांकन पनि सिन्धुली जिल्लाकै सुन्दर भू–परिवेश र ऐतिहाँसिक स्थलहरूमै गरिएको छ ।

भिडियोमा प्रमुख कलाकारका रूपमा रमेश विश्वकर्मा र दीप्सा कार्की देखिएका छन् । पवन केसी, सत्यदेवी, पवित्रा रम्तेल र काजी थापाले सहायक भूमिका निर्वाह गरेका छन् । गीतमा उनीहरूको अभिनयले सिन्धुलीको गौरव र पहिचानलाई थप उजागर गरेको छ ।

गीतको सुन्दर दृश्यलाई क्यामेरामा बासु बरालले कैद गरेका छन् । रमणीय सिन्धुली गढी, डाँडाकाँडा र स्थानीय जनजीवनलाई भिडियोमा उतार्दै उनले गीतलाई अझै आकर्षक बनाएका छन् । भिडियो निर्देशन भने अनुभवी निर्देशक क्रान्ति के.सी.ले गरेका छन् ।

४६ वर्षअघिको ऐतिहाँसिक पुरस्कार विजेता गीतलाई नयाँ स्वरूपमा प्रस्तुत गरेर सार्वजनिक गरिएको यो गीतले विगत र वर्तमानबीचको पुलको काम गर्ने अपेक्षा गरिएको छ । “सिन्धुली गढी घुमेर हेर्दा…” मात्र गीत नभई सिन्धुलीको गौरव गाथा बनेर पुनः जनसमक्ष आएको छ ।

Published : Monday, 2025 September 22, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया