जेनजी प्रदर्शनमा घुसपैठ गरी खुडासहित उत्रिएर प्रहरी वृत्त जलाउने ‘गोल्डेन’ गुण्डा पक्राउ

काठमाडौं । प्रहरी वृत्त, कालीमाटी, काठमाडौंमा आगजनी गरेको आरोपमा प्रहरीले सचिन खड्का ‘गोल्डेन’लाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १३ घर भएका ३८ वर्षीय खड्कालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जेनजी पुस्ताको भदौ २४ गतेको आन्दोलनका क्रममा घुसपैठ गरेर खड्काले प्रहरी वृत्त, कालीमाटीमा आगजनी गर्ने समूहको नेतृत्व गरेको आरोप छ ।

प्रदर्शनको समयमा आगजनी गरेपछि खड्काले थ्रिनट थ्री राइफल, खुडा र खुकुरीसहित प्रहरी वृत्त, कालीमाटी अगाडि खुसी मनाइरहेको भिडियो सामाजिक सञ्जालमा भेटिएका छन् । प्रहरीको रेकर्डमा खड्काको पृष्ठभूमि राम्रो छैन । उनी प्रहरीको निगरानी सूचीमा रहेका गुण्डामा पर्छन् ।

खड्का सोही वडा निवासी हुन् । काठमाडौं महानगरपालिका वडा नं. १३ को वडा कार्यालय पनि खड्काको नेतृत्वको समूहले आगजनी गरेर क्षति पु¥याएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

खड्काविरुद्ध आपराधिक उपद्रव गर्न नहुने कसूरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा खड्का जस्ता उछृङ्खल समूह प्रवेश गरी हिंसा गर्नुका साथै राष्ट्रिय सम्पत्तिमा क्षति गरेका छन् । दशैँको बेलामा खड्का प्रहरी हिरासतमा बसेर मुद्दा खेप्नेछन् ।

Published : Monday, 2025 September 22, 12:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया