नख्खुबाट अभियुक्त रवि लामिछानेसँगै जेल फोडेर फरार भएका कैदीले आफ्नै पत्नीको हत्या

काठमाडौं । जेनजी आन्दोलनमा घुसपैठ गराएर नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जेल फोडेर फरार भएका कैदी सन्तबहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कारागारबाट फरार भएका सन्तबहादुर तामाङले श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेको पाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी मीन घलेले बताएका छन् । सन्तबहादुर तामाङको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

काभ्रे जिल्लाको पनौती नगरपालिका–१२ कलाँतीस्थित घरको पछाडि करेसामा गाडिएको अवस्थामा श्रीमती जमुनाको शव फेला परेको छ । ३२ वर्षीया जमुना तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्दा गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

सन्तबहादर तामाङ भदौ २४ गते नख्खु कारागारबाट फरार भएर घर आएका थिए । प्रहरीले खोजतलास गरिरहेको भए पनि उनी लुकेर बसिरहेका छन् । जर्बजस्तीकरणी उद्योगमा ३ वर्षको कैद सजाय भुक्तान गरिरहेका तामाङको कैद अवधि एक महिना मात्रै बाँकी थियो ।

श्रीमती जमुनासँग केही दिनदेखि झगडा गर्दै आएका सन्तबहादुर तामाङ हत्यापछि फरार भएको स्थानीयले बताएकाछन् । मृतकका ११ वर्षीय छोरा र ३ वर्षीया छोरी रहेको वडा सचिव लालबहादुर लामाले बताए । प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी घलेले जानकारी दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा रास्वपाका सभापति लामिछानेले आफ्ना समर्थक, नेता तथा कार्यकर्ताहरूमार्फत नख्खु जेल फोडन लगाएका थिए । त्यसपछि कीर्ते पत्र बनाएर फरार भएका थिए । सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षका लागि जेलमा रहेका लामिछाने जेल फोडेर फरार भएपछि जेलका अधिकांश कैदी बन्दीहरू फरार भएका थिए ।

Published : Sunday, 2025 September 21, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया