बैंकिङ कसूर मुद्दाका फरार तीन प्रतिवादीहरू पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ गौरीघाट बस्ने ६१ वर्षीया विमला अधिकारी, काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने पर्साको वीरगंज महानगरपालिका–१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी र काठमाडौं महानगरपालिका–८ बानियाँटार बस्ने नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ घर भएका ४४ वर्षीय माधव पण्डित रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८२ भदौ १३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेकी विमलालाई काठमाडौंको गौरीघाटबाट बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौंको कुलेश्वरबाट आइतबार र माधवलाई काठमाडौंको बालाजु चोकबाट बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउमध्ये विमलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त, सिंहदरबार र माधवलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ । महमदलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत, काठमाडौंमा पेश गरिएको छ ।

Published : Friday, 2025 September 5, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया