गिरोहका नाइके भण्डारीलाई ब्यूरोद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलले मिर्गाैला बिक्रीमा संलग्न गिरोहका नाइके ३८ वर्षीय श्यामकृष्ण भण्डारीलाई पक्राउ गरेको छ ।

ब्यूरोले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ घर भएका भण्डारीलाई पक्राउ गरेको जनाएको छ । भारतीय आधारकार्डसमेत बनाएर भण्डारीले तीन वर्षदेखि नयाँदिल्लीमा बस्दै आएका थिए ।

सोझा र आर्थिक अवस्था कमजोर भएका नेपालीलाई फकाएर भारतमा लगी भण्डारीकै नेतृत्वको गिरोहले मिर्गाैला बिक्री गर्दै आएको ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले बताएका छन् ।

सोधपुछको क्रममा भण्डारीले २५ जनाको मिर्गाैला झिक्न लगाई पैसा लिएको प्रारम्भीक बयान दिएको एसएसपी पंगेनीले बताएका छन् । भण्डारीले एक सयभन्दा धेरै मानिसको मिर्गाैला बिक्री गरिसकेको अनुसन्धानका क्रममा खुल्न आएको एसएसपी पंगेनीले बताए ।

भण्डारी र उनको गिरोहले पीडित व्यक्तिहरूलाई ६ लाख दिने भनेर लैजाने र कतिपयलाई त्यो पैसा पनि नदिने गरेको प्रहरीले जनाएको छ ।

भण्डारीका सहयोगी सिन्धुपाल्चोकको इन्द्रावती–२ का सुजन भारतीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यसअघि साउन २० गते पक्राउ परेका राकेश नेपाली, समीर नेपाली तथा राजकुमार नेपालीलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा भण्डारीको समूह पत्ता लागेको हो ।

प्रहरीले भण्डारीलाई कञ्चनपुर तथा भारतीलाई वीरगञ्जमा पक्राउ गरिएको भनेर सार्वजनिक गरेको छ । सो गिरोहविरुद्ध पाँचजनाले प्रहरीमा जाहेरी दिइसकेका छन् ।

Published : Sunday, 2025 August 31, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया