सहकारी ठगहरूको भ्रम चिर्नुछ, थारुहरूको अधिकारका लागि ०८४ मा कांग्रेसलाई बहुमत दिलाउनुपर्छ : योगेन्द्र चौधरी
लमही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरि नेता, कार्यकर्ताहरूले काम गर्नुपर्ने बेला आएको बताएका छन् ।
शनिबार लमहीमा नेपाल थारु संघ, दाङले आयोजना गरेको कार्यक्रममा नेता चौधरीले सहकारी ठगहरूले कांग्रेसविरुद्ध सामाजिक सञ्जालहरूबाट भ्रम छरिरहेको बताए । सहकारी ठगहरूको भ्रमलाई कांग्रेसका कार्यकर्ताहरूले बुझ्न जरुरी रहेको र आमजनतालाई त्यसबारे सचेत गराउनुपर्ने बताए । चौधरीले भने, ‘अहिले सबैभन्दा ठूलो स्वर सहकारी ठगहरूको छ । सहकारी ठगहरूको भ्रमलाई चिरेर अगाडि बढ्नुपर्छ ।’
नेता चौधरीले ०८४ मा बहुमतसहित जितेर आयो भने देशभरिका आदिवासी, जनजाति, थारु लगायत सबैको अधिकार सुनिश्चित हुने बताए । उनले भने, ‘मुलुकलाई नेतृत्व दिन नेपाली कांग्रेसलाई बहुमत आवश्यक पर्छ । दुई पटक नेपाली कांग्रेसले पाएको छ । कांग्रेसले बहुमत पाउँदा माओवादी द्वन्द्व शुरु भयो । त्यसपछि कांग्रेसले बहुमत पाएको छैन ।’
‘आउने निर्वाचन २०८४ मा नेपाली कांग्रेसलाई बहुमत सहित ताकत भएको कांग्रेस बनाउनुपर्छ,’ चौधरीले भने, ‘त्यो ताकतले देशभरिका आदिवासी, जनजाति, थारुहरूको सबैको अधिकार सुरक्षित हुन्छ ।’
उनले भने, ‘कांग्रेसलाई बहुमत दिलाउने महाअभियानमा लाग्नुभन्दा अर्को बिकल्प छैन । कांग्रेसलाई आन्तरिक रुपमा संगठित बनाएर देशको पहिलो पार्टी र एकलौटी सरकार बनाउने गरि काम गर्नुपर्छ ।’
कांग्रेस नेता चौधरीले २०४८ सालपछि मुलुकमा धेरै ठूलो परिवर्तन भएको बताए । परिवर्तनहरू भएपनि जनता सन्तुष्ट नरहेको उनले बताए ।
‘०४८ सालपछि धेरै परिवर्तन भएको छ । सडक ९ हजारदेखि १ लाख १० हजार किलोमिटर पुगेको छ । २२७ मेगावाट थियो । ३४ सय मेगावाट विद्युत पुगेको छ । १२ वटा बैंकबाट आज १ सय १२ बैंक पुगेका छन् । आज बैंकका १२ हजार शाखा बनेका छन् ।’
‘शिक्षाको अवस्था ९० प्रतिशतको हाराहारीमा छ । मोबाइलमा राम्रो उपलब्ध भएको छ । नेपाल मोबाइल सञ्चालनमा भारतभन्दा अगाडि छ । राष्ट्रिय सूचकांकमा धेरै परिवर्तन भएको छ । तथापि जनताको असन्तुष्टि छ,’ चौधरीले भने ।
‘समयअनुसार यो असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ । समाजको लडाइँ कहाँ छभने कांग्रेस–एमाले पुरानो भ्रष्टाचार मुर्दावाद, राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ पार्टी जिन्दावाद, यही हो ? यदि देश बनाउने हो भने पुरानो भ्रष्टाचार चाहिँ मुर्दावाद, नयाँ भ्रष्टाचार जिन्दावाद हुन्छ त ? हुँदैन । नयाँ कुराका लागि हामी अगाडि बढ्नुपर्छ,’ नेता चौधरीले भने ।
उनले राज्यको स्रोत साधनमा जनताको अधिकार रहनुपर्ने बताएका छन् । ‘राज्यको स्रोतमा समान अधिकारको अवस्था बनाउनुपर्छ । त्यसमा हो हाम्रो असन्तुष्टि । स्रोत माथिको पहुँच हामीले जबसम्म बनाउन सकिदैन तबसम्म हाम्रो जीवन परिवर्तन हुन सक्दैन । हाम्रो शिक्षा र अवस्था बदल्न सकिदैन,’ उनले भने ।
नेपाल थारु संघ, दाङका सभापति शेषदत्त चौधरीले थारु समुदायको हक र अधिकारका लागि कांग्रेसले बाहेक अरु राजनीतिक दलले केही गर्न नसक्ने बताए । नयाँ दलहरूले थारुका समस्यालाई बुझ्न नसक्ने उनले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया