डा.आरजु राणाको पहलमा महिलाले स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक पद पाएका हुन् : योगेन्द्र चौधरी

लमही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले तीज पर्व प्रेम र भावना पोख्ने महिलाहरूको विशेष पर्व रहेको बताएका छन् ।

दाङको देउखुरीस्थित लमही नगरपालिकाले शुक्रबार लमहीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा नेता चौधरीले महिलाहरूका लागि तीज पर्व वर्षभरिको समीक्षालाई सुख र दुःखको भावनालाई गीतमार्फत पोख्ने गरेको बताए । उनले तीजको गीतमा प्रेम र आक्रोश देखिने गरेको बताए ।

‘तीजको बेलामा महिना दिनभरि महिलाले आफ्नो मनको एक वर्षको समीक्षा र सन्देश दिने गरिन्छ,’ चौधरीले भने, ‘हरेक पुरुषलाई महिलाहरूको पीडा र असन्तुष्टि बुझ्ने मौका पाउँछन् ।’

उनले भने, ‘समाजलाई बदल्न के गर्न सकिन्छ भन्ने राजनीतिक क्षेत्रमा सांगीतक क्षेत्रमा चर्चा हुने गर्छ । तीजले सिङ्गो अर्थतन्त्रलाई चलायमान बनाउँछ । बजारलाई चलायमान बनाउँछ । देशको अर्थतन्त्र चलायमान हुन्छ ।’

पूर्वसांसद समेत रहेका नेता चौधरीले महिलाहरूको हक र अधिकारका लागि परराष्ट्रमन्त्री एवम् कांग्रेस नेतृ डा.आरजु राणाको विशेष योगदान रहेको बताए । डा.राणाको कुटनीतिक, राजनीतिक र व्यक्तिगत पहलमा महिलालाई संवैधानिक रुपमा स्थानीय तहमा अधिकार प्राप्त भएको उनले बताए ।

‘डा.आरजु राणाले महिलाको अधिकारका लागि विशेष योगदान गर्नुभएको छ । स्थानीय तहमा एकजना महिला प्रमुख वा उपप्रमुख अनिवार्य हुनुपर्ने व्यवस्था राख्न लगाउनु भएको थियो,’ नेता चौधरीले भने, ‘निर्वाचन आयोगकी तत्कालीन निर्वाचन आयुक्त ईला शर्मा हामीबीच हुनुहुन्न । उहाँले कांग्रेसको कार्यक्रममा भन्नुभएको थियो । स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला अनिवार्य राख्नुपर्छ भनेर कांग्रेसमार्फत लविङ गरेर महिलालाई संवैधानिक अधिकार दिलाउनु भएको हो ।’

कार्यक्रममा लमही नगरपालिकाकी उपमेयर लक्ष्मी योगी, पूर्वउपमेर देवका बेल्बासे लगायतका महिलाहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2025 August 22, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया