२३ वर्ष अगाडि देउखुरीमा सौताको छोरा हत्यापछि फरार बसन्ता काठमाडौंमा पक्राउ

मसुरिया । १० वर्ष कैद सजाय भएपछि फरार रहेकी ५० वर्षीया बसन्ता शर्मा पण्डितलाई जिल्ला प्रहरी कार्यालय, दाङले २३ वर्षपछि पक्राउ गरेको छ ।

साउन २० गते बिहान साढे ८ बजे काठमाडौंको नयाँ बसपार्कस्थित सडकखण्डबाट बसन्तालाई पक्राउ गरिएको शुक्रबार दाङ प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दाङबाट फरार रहेकी बसन्ता काठमाडौंको गोंगबुमा आफ्नो छोरा केशवराज शर्मासँग बस्दै आएकी थिइन् ।

दाङको देउखुरीस्थित गढवा गाउँपालिका वडा नं. ७ मानपुर स्थाय वतन भएका गंगाप्रसाद शर्माकी पत्नी बसन्ता शर्मा पण्डितले २०५९ साल असार १९ गते आफ्नो सौताको छोरा वर्ष ९ का शरद शर्मालाई आफ्नै घरभित्र लाठ्ठीले प्रहार गरी कर्तव्य गरी हत्या गरेर मलखादमा खाडल खनेर गाडेको कर्तव्य ज्यान मुद्दामा दाङ जिल्ला अदालतबाट २०६० असोज २६ गतेको फैसलाबाट दुई वर्ष कैद र पुनरावेदन गर्दा २०६० माघ ३ गतेको फैसलाबाट १० वर्ष कैद तोकिएको थियो । फैसला भएको मितिबाट बसन्ता शर्मा पण्डित फरार रहेकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको सहयोगमा दाङ प्रहरीले बसन्ता शर्मा पण्डितलाई पक्राउ गरेर दाङ ल्याइ दाङ जिल्ला अदालतमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2025 August 8, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया