चण्डीगढमा मिर्गौला बिक्री गरिदिने ३ जना तस्कर ब्यूरोद्वारा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो, बबरमहलले मिर्गौला तस्करीमा संलग्न गिरोहका तीन सदस्यलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने काभ्रेको पाँचखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार, नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ९ का २४ वर्षीय समीर नेपाली र बेलकोटगढी नगरपालिका वडा नं. ४ का ४७ वर्षीय राकेश नेपाली रहेको ब्यूरोद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
ब्यूरो प्रहरी टोलीले काठमाडौं र काभ्रेपलाञ्चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले कोटेश्वर बस्ने सिन्धुलीका एक युवालाई भारतको चण्डीगढ लगेर झुक्याई मिर्गौला बेचिदिएको अभियोग लागेको छ । मिर्गौला बेचेबापत ती व्यक्तिलाई ६ लाख रुपियाँ दिने भनेका थिए । सहमति गरेअनुसारको रकम नदिएपछि पीडितले ब्यूरोमा उजुरी दिएका थिए ।
ब्यूरोका प्रवक्ता एवम् एसपी नरेन्द्र कुँवरले पीडितलाई प्रतिमहिना १० देखि २० हजार रुपियाँ कमाइ हुने भन्दै भारतको चण्डीगढ पुर्याएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ । महिना दिनसम्म होटलमा राखेपछि मिर्गौला बेच्ने प्रस्ताव गरेका थिए ।
ईन्कार गरेपछि उनीहरूले पीडितलाई चण्डीगढसम्म आएको सबै खर्च ब्यहोर्न धम्की दिएका थिए । पीडित मिर्गौला बेच्न राजी भएको प्रहरीले जनाएको छ । मिर्गौला बिक्री गरेको रकम नेपाल पुगेपछि दिने भनेर तीन जना फरार भएका थिए । पीडितले कबुलेबमोजिमको रकम पाउन सकेका थिएनन् ।
पीडितलाई उनीहरूले बुटवल, भैरहवा हुँदै सुनौली बोर्डर पार गराएका थिए । चण्डीगढस्थित अपार्टेन्टमा लगेपछि भोलिपल्ट नाम नखुलेको क्लिनिकमा लगेर मेडिकल चेकअप गराएका थिए ।
घटनालगत्तै भएको विशेष अपरेसनपछि प्रहरीले समिरलाई नयाँ बसपार्कबाट राकेशलाई बानियाँटारबाट र राजकुमारलाई काभ्रेबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया