गोदावरीमा बुद्धचित्तको दाना चोरी गर्ने समूहद्वारा खुकुरी प्रहार

जावलाखेल । ललितपुरमा बुद्धचित्तको दाना चोरी गर्न गएको समूहले घरधनीमाथि खुकुरी प्रहार गरेको छ ।

शनिबार राति ललितपुरको गोदावरी नगरपालिका–७ गुरूङचुले गैरीडोलीमा बुद्धचित्तको दाना चोरी गर्न पुगेका समूहले घरधनी कृष्णबहादुर मार्फामाथि खुकुरी प्रहार गरेर बुद्धचित्तको दानासहित फरार भएका छन् ।

उक्त समूहले सिसिटिभीको तार काटेर बुद्धचित्तको दाना टिप्दै गर्दा कुकुर भुकेपछि घरबाहिर निस्किएका घरधनी मार्फामाथि खुकुरी प्रहार गरेका थिए ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी चक्रराज जोशीले घरधनीमाथि खुकुरी प्रहार गरेर फरार रहेका तीन जनालाई आइतबार बिहान पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेहरूमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ रहेका छन् । उनीहरूको साथबाट बुद्धचित्तको हरियो दानासमेत बरामद गरिएको छ ।

उक्त समूहको खुकुरी प्रहारबाट बुद्धचित्त धनीको दायाँ हातमा चोट लागेको छ । उनी आनन्दवन अस्पतालमा उपचारपछि मार्फ अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

Published : Sunday, 2025 July 20, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया