पोखरा महानगरका विद्यालय, क्याम्पसले लिने भर्ना र शुल्कमा सुधार गर्न नेविसंघको चेतावनी

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरपालिका कार्यसमितिका अध्यक्ष विपिन पौडेलले विद्यार्थी भर्नाको शुल्कलाई लिएर विभिन्न गुनासाहरू आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहीबार अध्यक्ष पौडेलले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘शैक्षिक सत्र २०८२ मा भर्ना भइ पोखरा महानगरपालिकाभित्र रहेका विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीको छात्रबृत्ति, भर्ना शुल्क र शैक्षिक शुल्कका विषयमा विद्यार्थीबाट विभिन्न गुनासोहरू आएको हुँदा उक्त विषयमा नेपाल विद्यार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’

अध्यक्ष पौडेलले पोखरा महानगरपालिका शिक्षा महाशाखाले नेविसंघका मागहरू यथाशीघ्र सम्बोधन गर्नुपर्ने बताएका छन् ।

‘पोखरा महानगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय र क्याम्पसहरूले कुल विधार्थीको १० प्रतिशत जेहेन्दार र गरिब विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने र छात्रवृत्ति प्रदान गरेका विद्यार्थीको विवरण सार्वजनिक गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

‘एक पटक भर्ना शुल्क तिरेर भर्ना भएका विद्यार्थीलाई सोही विद्यालयमा अर्को नयाँ शैक्षिक सत्रमा भर्ना शुल्क नलियोस् र विद्यालयमा गराइने अतिरिक्त क्रियाकलापको बहानामा विद्यार्थीसँग कुनै शुल्क नउठाइयोस्,’ नेविसंघ अध्यक्ष पौडेलले भने ।

‘नेपालको संविधानले नै माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क हुनुपर्ने भनेको छ,’ उनले भने, ‘त्यही अनुसार बनेको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐनले समेत कक्षा १२ सम्मको शिक्षा निःशुल्क भनेको छ ।’

‘सामुदायिक विद्यालयमा विद्यार्थीसँग लिने गरेको भर्ना शुल्क बन्द गरि महिनावारी लिने शैक्षिक शुल्क पनि बन्द गरियोस्,’ नेविसंघ अध्यक्ष पौडेलले भने ।

नेविसंघ पोखरा महानगरपालिका कार्यसमितिका अध्यक्ष पौडेलले भने, ‘हाम्रा उक्त मागहरू सम्बोधन नगरिए विभिन्न शैक्षिक आन्दोलनका कार्यक्रमहरू तह गरिनेछ र आवश्यक परे महानगरभित्रका विद्यालय बन्द समेत गरिनेछ ।’

‘त्यसपछि उत्पन्न हुने सम्पूर्ण विषयको जिम्मेवारी स्वयं पोखरा महानगरपालिका शिक्षा महाशाखाको कार्यालय हुनेछ’, नेविसंघ अध्यक्ष पौडेलले चेतावनी दिएका छन् ।

Published : Friday, 2025 July 18, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया