वैदेशिक रोजगारीमा रहेका बेला छोराछोरी छाडेर दोस्रो विवाह गरेपछि पूर्व श्रीमानद्वारा महिलाको हत्या
सरुमारानी । प्यूठानमा आफन्तको घरमा बस्न गएकी एक महिलाको आफ्नै पूर्व श्रीमानले चक्कु प्रहार गरी हत्या गरेका छन् ।
सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मनी बरालको हत्या उनका पूर्व पति लीलबहादुर बरालले गरेका हुन् । हत्या अभियोगमा ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लीलबहादुर बराललाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालले जानकारी दिए ।
मंगलबार बिहान १० बजेर १० मिनेटतिर भएको हत्याको घटना भएको हो । रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन् । डिलाका अनुसार, लीलबहादुरले रुक्मणीलाई फोन गरेर भेट्न बोलाएका थिए । उनीहरू घरभित्र पुगेपछि लीलबहादुरले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
‘मैले कराएँ, नहानु भनें तर, उनले सुनेनन्,’ डिलाले भनिन्, ‘आँखा अगाडि छुरा प्रहार गरेर मारे । हारगुहार ग¥यौं, केही उपाय लागेन ।’
इजरायलमा श्रमिकको रुपमा कार्यरत लीलबहादुर केही दिनअघि असार २४ गते मात्र घर फर्किएका थिए । रुक्मणीले भने गत वैशाखमा दीपक परियारसँग पुनः विवाह गरेकी थिइन् । दीपक १५ दिनअघि कामको सिलसिलामा संखुवासभा गएकाले घटनाका बेला उनी घरमा थिएनन् ।
रुक्मणी र लीलबहादुरबाट एक छोरा र एक छोरी छन् । आमाको हत्या र बुबाको गिरफ्तारीसँगै ती बालबालिका अभिभावकविहीन बनेका छन् ।
घटनापछि बड्डाडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले लीलबहादुरलाई नियन्त्रणमा लिएको डीएसपी बस्यालले बताए ।
‘घटनास्थल सुरक्षित गरिएको छ । अभियुक्त प्रहरी नियन्त्रणमा छन्,’ डीएसपी बस्यालले भने, ‘प्रारम्भीक अनुसन्धान अनुसार, यो हत्या पूर्व वैवाहिक रिसइबीको कारण भएको देखिन्छ ।’ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया