निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरूलाई त्यस्ता कुराहरू प्रमाणित गर्न चुनौती दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजशरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए ।

उनले देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेको बताए । ओलीले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए ।

‘झुुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन’, उनले भने, ‘हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूप्रति आक्रोश पोखेका छन् । उनले रास्वपालाई निलो स्याल भनेर टिप्पणी पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘आजकाल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूको वास्तविक रुप लामो समय टिक्ने छैन ।’

प्रधानमन्त्री ओलीले भने, ‘एमालेले आफूूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुुन्छौँ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुुस भएको बताए ।

Published : Sunday, 2025 April 27, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया