नेपाली खेलाडीहरूले मौका पायो भने संसारभरिका खेलाडीलाई ढुटो पार्न सक्छन् : मोहन बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले खेलकुद क्षेत्रमा निकै कम बजेट रहेको भन्दै खेलाडीहरूको संरक्षण गर्न नसकेका कारण पलायन हुने क्रम बढेको बताएका छन् ।
ललितपुरको सातदोबाटोमा आयोजित ‘प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिता २०८२’ लाई सम्बोधन गर्दै बस्नेतले कराते खेलकुद प्रतियोगिता सबैभन्दा धेरै अन्तर्राष्ट्रिय मेडल ल्याउने खेल भएको बताए । उनले खेलाडीहरूलाई राज्यले संरक्षण गर्न नसक्दा रोजगारीका लागि विदेश पलायन हुनुपरेको बताए ।
उनले भने, ‘कराते खेलकुदमा अहिले सरकारले केही सहयोग गर्दै आएको परिस्थिति होला । कुनै बेला यस्तो बेला थियो आफ्नै बाहुबलले बाबुआमासँग दङग्याएर होस्, गलैचा मजुरको हिसाबले काम गरेर होस्, ढल खनेर जम्मा गरेको २/४ पैसा होस्, त्यसले एकमुठी चना र एकगिलास दुध खाएर साउथ एशियन रिजनमा हेर्ने हो भने विकसित मुलुक हुने देश, राम्रा देशका खेलाडी उत्पादन भएका देशका खेलाडीहरूलाई पनि आफैले ड्यामका ड्याम ठोकेर नेपाललाई सबैभन्दा बढि मेडल जिताउने गेम हो यो । त्यसपछि ताइकाण्डो भन्छन् ।’
‘त्यो बेलाका हस्तीहरू यिनै हुन् । मीनकृष्ण महर्जनजीले भन्नुभयो साउथ एशियन गेमभन्दा के कम छ, अथवा अरु गेमहरूभन्दा के कम छ ? खेलेका तपाईहरू नै हो । दुःख गरेका तपाईहरू नै हो । यो सञ्चालन गर्ने तपाईहरू नै हो । कार्यक्रमको शीर्षक परिवर्तन हो । अरु सबै यहि त हो नि । यहाँभन्दा बढि के हुन्छ’, नेता बस्नेतले भने ।
उनले भने, ‘यो आफैमा बढि महत्व राख्छ । हिजो ओलम्पिकमा खेल्न जाने भनेपछि समस्या हुन्थ्यो । एरिका बहिनीको कुरा चल्यो । बधाई दिन चाहन्छु । अष्ट्रेलियामा त्यत्रा ठूला देशका मान्छेहरूलाई दनक दिएर गोल्ड मेडल ल्याइदिनुभयो । नेपाली खेलाडीहरूले मौका पायो भने संसारभरिका खेलाडीलाई ढुटो पार्न सक्छन् भन्ने मलाई थाहा छ, पार्नका लागि पूर्वाधार चाहियो । ट्रेनिङ चाहियो । दानापानी चाहियो ।’
‘जुत्ता नपाएर चित्रबहादुर केसीजी म्याराथनमा सडकमा ढलेर रक्तपात हुनुप¥यो । राज्यले केही गरिदिएको अवस्था होइन । कुन चाहिँले नक्कली जुत्ता पठाइदिएको थियो । दौडदा दौडदै फाटिहाल्यो । च्यात्तियो । त्यो अवस्थामा नेपाली खेलाडीहरू गुज्रिदा बल्ल अहिले केही हुन्छ कि भन्ने जस्तो अवस्था छ’, उनले भने ।
‘खेलकुदमा लागेर मेरा छोराछोरीले पढ्न पाउँछन्, स्वास्थ्य उपचार हुन्छ, बाबुआमा पाल्न सकिन्छ र श्रीमती भान्सामा कराएर बस्नु पर्दैन भन्ने मात्रै राज्यले व्यवस्था गर्न सक्यो भने नेपाली खेलाडीहरू संसारकै उत्कृष्ट खेलाडी नेपालमा छभन्ने मलाई थाहा छ’, नेता बस्नेतले भने ।
कांग्रेस नेता बस्नेतले एन्फाले लिग नगरेर खेलाडीहरूलाई दुःख दिएको बताए । उनले भने, ‘एन्फाले लिग नगरेको कति समय भयो भयो । खेलाडीहरू पलायन हुन थाले ।’
‘सफा खेलमा जानुपर्ने खेलाडी मलेशिया कुदिरहेका छन् । कुवेतमा छन् । अर्को देश साउदी अरब गइरहेका छन् । केका लागि रहरले हो ? बाँच्नका लागि हिँड्नु परेको छ । म पनि ३ पटक मन्त्री भइसके । मलाई भन्न लाज छैन । हामीले गर्न नसकेका कारणले हो नि यो त । खेललाई व्यवसायीकरण गर्नेतर्फ राज्यले वातावरण बनाउन सकेन भने साधारण युवा मात्रै होइन नेपाललाई अन्तर्राष्ट्रिय जगतमा मेडल ल्याएर नेपालको झण्डा संसारभरि फहराउनेहरू सबैभन्दा बढि लाइन बाहिरको भइसक्यो’, नेता बस्नेतले भने ।
नेता बस्नेतले कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा खेलकुद प्रतियोगिता गरेर खेलाडीहरूको सम्मान भएको बताए ।
उनले भने, ‘सबैलाई मिलाएर लैजान सक्ने हैसियत भएको मान्छे । योग्यता र क्षमताले पाँच पटक प्रधानमन्त्री भइसकेको व्यक्तित्व । त्यो व्यक्तित्वको नाममा कराँते प्रतियोगिता भएको छ ।’
नेता बस्नेतले आगामी बजेट ल्याउने क्रममा बागमती प्रदेश सरकारलाई भनसुन गरेर युवा तथा खेलकुद मन्त्रालयमा बजेटको बढाउन दवाव सिर्जना गर्ने बताए ।
उनले भने, ‘प्रदेशले खेलकुदमा बजेट बढाउने कुरामा हाम्रा पनि कुरा सुन्नुपर्ने हुन्छ अलिअलि । केही कुरा म पनि भन्छु । अलिकति बजेट बढाओस् भनेर । अहिलेको जमानामा ल्याङ्गल्याङ्ग गरेर भएन भने भिड्न पनि पर्यो । सबै मिलौँ लागौँ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया