कांग्रेसलाई बलियो बनाउने हो, कसैलाई पनि गाली नगरौं : परराष्ट्रमन्त्री डा.राणा

इलाम । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गरे पनि गालीगलौजको राजनीति गर्न नहुने बताएकी छिन् ।

सोमबार इलाममा नेपाली कांग्रेस इलामले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.राणाले भनिन्, ‘आमसमा हामी धेरै द्वन्द्व गर्छौ । द्वन्द्व गर्ने साथीहरूलाई के भन्न चाहन्छु भने पार्टीभित्र प्रतिस्प्रधात्मक प्रतियोगिता हुन्छ ।’

‘प्रतियोगिता नभइ कुनै पनि कुरा थाहा हुँदैन । कोही मान्छेले जितेर आउँछ भने त्यसलाई सपोर्ट गर्ने हो’, उनले भनिन् ।

‘हामी पोलिसी बुझेर, सिद्धान्त बुझेर पार्टीमा लागेका छौँ । जो जितेर आउँछ त्यसलाई हामीले सपोर्ट गर्नुपर्छ । त्यो हाम्रो कर्तव्य हो । घरभित्र पनि आमाछोरी, दाजुभाइको पनि झगडा हुन्छ’, डा.राणाले भनिन् ।

उनले भनेकी छिन्, ‘अब आउने चुनावमा गठबन्धन नहुने भन्नेछ । त्यो बेलामा हाम्रो पार्टीमा कसरी सहयोग गर्छौं ? हाम्रो पार्टीमा जसले टिकट लिएर आउँछ उसलाई कसरी जिताउने ? भन्ने कुरामा हामी सबै लाग्नुपर्छ ।’

उनले भनिन्, ‘त्यो बेलामा हामी पानीमाथिको ओभानो नभएर साँच्चिकै पार्टीलाई सहयोग गर्नुपर्छ ।’

कांग्रेस नेतृ डा.राणाले भनिन्, ‘समाचारहरू हेर्दा साथीहरूलाई चुनाव लागे जस्तो देख्छु । भ्रातृ संस्थाहरूलाई अधिवेशन लाग्नु स्वभाविक हो । लाग्नुपर्छ ।’

‘०८४ को चुनावका लागि नेताहरूलाई अहिले नै चुनाव लागे जस्तो देखिएको छ । कार्यक्रम अगाडि बढाउँदा कसैलाई पनि गाली नगरेर अगाडि बढ्न सुझाव दिन्छु’, उनले भनिन् ।

‘पार्टी बलियो भयो भने हामी बलियो हुने हो । सरकारमा हामी छौँ । सरकारलाई गाली गर्ने काम भएका हुन्छ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘चित्त नबुझे सभापति, पार्टीका नेताहरूसँग कोठाभित्र बसेर पनि हामी कुरा गर्न सक्छौँ ।’

परराष्ट्रमन्त्री डा.राणाले राजनीतिमा महिलालाई नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएकी छिन् ।

उनले भनिन्, ‘आउने दिनहरूमा राजनीतिमा महिलाहरूको सक्रियता बढाउनुपर्छ । जुन देशमा महिलाहरूको सक्रियता राजनीतिमा ती देशहरूको सबैभन्दा धेरै विकास भएको पाएका छौं । यसो भनिरहँदा म महिलावादी मात्रै नेतृ होइन । म सबैको नेतृ हुँ ।’

Published : Monday, 2025 April 14, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया