कूटनीतिज्ञहरूलाई नेपालको पर्यटन राजदूत बन्न परराष्ट्रमन्त्री डा.राणाद्वारा आग्रह
इलाम । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपालको विकास र समृद्धको आधार पर्यटन रहेको बताएकी छिन् ।
परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा डा.राणाले भनिन्, ‘नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन् ।’
परराष्ट्रमन्त्री डा.राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको बताइन् ।
डा.राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गरेकी छिन् ।
इलाम क्षेत्रको महत्व स्पष्ट पार्दै डा.राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रहेको बताइन् ।
उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटन राजदूत बन्न आग्रह गरेकी छिन् । उनले भनिन्, ‘मेरो आग्रह छ कि यहाँबाट फर्किंदा तपाईंहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस् ।’
डा.राणाले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाहरूको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह गरेकी छिन् ।
कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलिया लगायत १५ भन्दा बढी देशका राजदूत एवं विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरू सहभागी रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया