परराष्ट्रमन्त्री डा.राणाद्वारा बैद्यनाथ धाम र बासुकीको पूजाअर्चना, गर्भगृह श्रंगार दर्शन

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले झारखण्डस्थित बाबा बैद्यनाथ धाम (भोलेनाथ) मन्दिरमा दर्शन र पूजाअर्चना गरेकी छिन् ।

बुधबार भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाम मन्दिरमा डा.राणाले विधिअनुसार पूजाअर्चना गरेकी हुन् । यसअघि मंगलबार डा.राणाले गर्भगृहमा पुगेर भोलेनाथको श्रंगार दर्शन गर्नुका साथै मंगल कामना गरेकी थिइन् ।

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.राणाले बाबा बैद्यनाथ धामका साथै त्यहाँस्थित बासुकीनाथ मन्दिरमा पनि पूजाअर्चना गरिएको निजी सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले बाबा बैद्यनाथ धाम र बासुकीनाथमा पूजाअर्चनका लागि सहयोग गर्ने मन्दिर व्यवस्थापन समिति र मन्दिरका मूल पुजारी लगायत सबैमा धन्यवाद ज्ञापन गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणा मंगलबार दिउँसो देवघर एयरपोर्टमा पुगेकी हुन् । उनलाई देवघरका अधिकारीहरूले स्वागत गरेका थिए । डा.राणालाई देवघर डीसी विशाल सागरले स्वागत गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

देवघरका स्थानीय सुरक्षाकर्मीको विशेष सुरक्षामा परराष्ट्रमन्त्री डा.राणा बाबा बैद्यनाथ मन्दिर पुगेको समाचारमा उल्लेख छ ।

डा.राणाको सस्वागत र भोलेनाथको गर्भगृह श्रंगार दर्शनका क्रममा मन्दिर प्रबन्धक रमेश परिहस्त, सरदार पंडा प्रतिनिधि बाबा झा, भाजपा नेता हरि सिंहसहित थुप्रै व्यक्तिहरूले उपस्थिति रहेको थियो ।

देवघरमा बाबा बैद्यनाथको दर्शन र पूजाअर्चनापछि डा.राणा १७ मार्चदेखि १९ मार्चसम्म चल्ने रायसीना डायलगमा भाग लिन नयाँ दिल्ली जाने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

परराष्ट्रमन्त्री डा.राणासँग नेपाली कांग्रेसका नेता सन्दीप राना पनि देवघर पुगेका छन् । राना पाल्पा कांग्रेसका युवा नेता हुन् ।

Published : Wednesday, 2025 March 12, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया