राजेन्द्र र ज्ञानबहादुरलाई सांसद पदबाट राजीनामा दिन तरुण अध्यक्ष गुरुङको चेतावनी
भरतपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल चितवनको अब आउने जिल्ला अध्यक्षले चितवनमा गुमेको नेपाली कांग्रेसको सिट फर्काउने बताएका छन् ।
मंगलबार चितवनमा नेपाल तरुण दल भरतपुर महानगर समितिद्वारा आयोजित पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा अध्यक्ष गुरुङले चितवनमा कांग्रेसले गुमाएको सिटहरू तरुणहरूले आगामी निर्वाचनमा फिर्ता गराउने बताए । उनले तरुण दलको पाँचौँ महाधिवेशन निर्धारित समयमा सम्पन्न हुने बताएका छन् ।
सडकमा विभिन्न खालका षड्यन्त्रहरू सुनिन थालेको भन्दै अध्यक्ष गुरुङले तरुणहरू सतर्क हुने बेला आएको बताए । संविधानले दिएको अधिकारभित्र रहेर सबैले गतिविधि गर्ने छुट रहेको बताउँदै गुरुङले अराजकतालाई कुनै पनि हालतमा सहन नसकिने बताए ।
तरुण अध्यक्ष गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाह नारायणहिटीबाट आफै निक्लेको नभएर राजनीतिक दलहरू एकढिक्का भएर निकालेको बताए । उनले केही तत्वले आफ्नो स्वार्थका लागि पूर्वराजा शाहको नाममा रोटी सेकाउन खोजेको पनि बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संसदमा छिरेर सपथ लिएर तलब, भत्ता खाने अनि यो व्यवस्था मान्दैनौ भनेर बुकुर्सीमार्ने राजेन्द्र लिङ्देन र ज्ञानबहादुर शाहीहरूलाई सांसद पदबाट राजीनामा दिएर सडकमा जान सुझाव तरुण अध्यक्ष गुरुङले दिएका छन् । उनले देशलाई द्वन्द्वबाट बचाउन तरुणहरूले विशेष भूमिका खेल्नुपर्ने बताए ।
‘हिजोका दिनमा हाम्रा धेरै दिदीबहिनी विधवा हुनुभएको थियो । बालबच्चाहरू टुहुरो भएका थिए’, तरुण अध्यक्ष गुरुङले भने, ‘यो देशमा फेरि द्वन्द्व चर्काउने अराजकता गतिविधिहरूप्रति तरुणहरू चनाखो हुनुपर्छ ।’

जिल्लाको हरेक तहमा नव उर्जावान तरुणहरूसम्म पूर्णकालीन फाराम भरी केन्द्रमा पठाउन अध्यक्ष गुरुङले मातहतलाई निर्देशन दिए ।
उनले नजिकदै गएको स्ववियु चुनावमा नेविसंघका उम्मेदवारलाई जिताउन तरुणहरूलाई भूमिका खेल्न निर्देशन पनि दिएका छन् ।
नेपाल तरुण दल भरतपुर महानगरका अध्यक्ष चित्रबहादुर राणालाई अध्यक्ष गुरुङले पूर्णकालीन फाराम हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्यहरू सरिन घिमिरे, निर्मल पौडेल, घनश्याम पौडेल, दीपक अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्व पार्टी सभापति विकास कोइराला एवं नेपाल तरुण दल चितवन जिल्ला अधिवेशन संयोजक राजन ताम्राकारको पनि उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया