खतिवडा भन्छन्- मधेशका ९६ हस्पिटालमा निरीक्षण गर्दा ८१ नक्कली, ओखलढुङ्गामा बीमा र औषधि पठाउ
काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मधेश प्रदेशमा ९६ वटा हस्पिटलमा निरीक्षण गर्दा ८१ वटा हस्पिटल नक्कली फेला परेको भन्दै चिन्ताको विषय रहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले मधेश प्रदेशमा नक्कली हस्पिटल, नक्कली डाक्टर, नक्कली औषधि र सक्कली बिरामी परे भने अवस्था के होला भनेर सरकारसँग गम्भीर प्रश्न उठाएका छन् । उनले देशभरिका हस्पिटलहरूको कानूनी वैधताहरूका विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभापति खतिवडाले भने, ‘मधेश प्रदेशमा ९६ वटा हस्पिटलहरूको निरीक्षण गर्दा ८१ वटा हस्पिटल नक्कली फेला परे छन् । नक्कली हस्पिटल, नक्कली डाक्टर, नक्कली औषधि, सक्कली बिरामी भए भने बिरामीको अवस्था के हुन्छ सरकारले देशभरि त्यतातिर ध्यान दिओस् भनेर अनुरोध गर्न चाहन्छ ।’
सांसद खतिवडाले ओखलढुङ्गाको मिशन हस्पिटलमा स्वास्थ्य बीमाको रकम छिटोभन्दा छिटो उपलब्ध गराउन माग गरेका छन् । मिशन हस्पिटलमा औषधिको पनि अभाव भएको भन्दै औषधि यथाशीघ्र पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेका छन् ।
उनले भने, ‘ओखलढुङ्गाको मिशन हस्पिटलमा बीमाको रकम समयमा नपुग्दा त्यहाँका बिरामीले उपचार गर्नबाट बञ्चित हुनु परेको छ । डाक्टरहरूले तलब पाएका छैनन् । औषधिहरूको पनि अभाव भएकोले छिटोभन्दा छिटो त्यहाँ बीमाको रकम पठाउने व्यवस्था होस् । केवल बोल्ने काम गर्ने, कुरा गर्ने, काम नगर्नाले जनतामा निराशा पैदा हुन्छ ।’
सभापति खतिवडाले बिराम, अशक्त, वृद्ध÷वृद्धालाई स्थानीय तहमा पुगेर राष्ट्रिय परिचय पत्र वितरण गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।
उनले भने, ‘ओखलढुङ्गा लगायतका जिल्लाहरूमा हामीले वृद्ध र बिरामीहरूलाई स्थानीय तहमा गएर राष्ट्रिय परिचय पत्र वितरण गर्छु भनेर सरकारलाई अनुरोध गरेका थियौं । सरकार त्यहाँ पुगेछ । त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया