परराष्ट्रमन्त्री डा.राणा भारत प्रस्थान, राइसिना डायलगमा सहभागी हुने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा राइसिना डायलग कार्यक्रम, स्वास्थ्य उपचारक र बाबा बैद्यनाथ धामको दर्शन लगायतका कार्यक्रममा भाग लिन भारत प्रस्थान गरेकी छिन् ।

सोमबार परराष्ट्रमन्त्री डा.राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाका लागि पुगेकी हुन् । डा.राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् ।

परराष्ट्रमन्त्री डा.राणा भारतको विदेश मन्त्रालयद्वारा मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुने कार्यक्रम छ ।

भारत सरकारको निमन्त्रणामा कार्यक्रममा परराष्ट्रमन्त्री डा.राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ ।

कार्यक्रमलाई परराष्ट्रमन्त्री डा.राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।

भ्रमणकै क्रममा परराष्ट्रमन्त्री डा.राणाले आफ्नो स्वास्थ्य जाँचको फ्लोअप पनि गराउने कार्यक्रम रहेको छ ।

Published : Monday, 2025 March 10, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया