परराष्ट्रमन्त्री डा.राणाद्वारा परिषद सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायसँग अपील

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई अपील गरेकी छिन् ।

बिहीबार परराष्ट्रमन्त्री डा.राणाको सम्मानमा स्वीट्जरल्याण्डको जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा विभिन्न देशका स्थायी नियोग र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूका लागि आयोजित स्वागत समारोहलाई सम्बोधनका क्रममा राजदूत एवं प्रतिनिधिहरूसँग नेपाललाई समर्थन गरि मतदान गर्न आग्रह गरेकी हुन् ।

उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरेकी छिन् ।

कार्यक्रममा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित हरहेका थिए ।

डा.राणाले भनिन्, ‘नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानअधिकारको पक्षमा अडिग छ । मानवअधिकारको रक्षा र प्रवर्धनमा हामीले विगत लामो समयदेखि काम गरिरेहका छौँ ।’

‘यही प्रतिबद्धताका साथ नेपालले यस परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको छ’, डा.राणाले भनिन्, ‘संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूलाई म नेपाललाई सहयोग गर्न आग्रह गर्दछु ।’

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारहरूलाई मौलिक हकका रुपमा समेटेको छ ।’

‘नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानूनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रही आएको छ’, डा.राणाले भनिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको बताएकी छिन् । उनले शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पनि छिट्टै टुङ्ग्याउने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानून निर्माण गर्न काम गरिरहेको बताएकी छिन् ।

Published : Thursday, 2025 February 27, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया