केआईआईटीको घटनामा परराष्ट्रमन्त्रीबाट भएको कुटनीतिक पहलको रामहरि खतिवडाद्वार प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको घटनाप्रति परराष्ट्रमन्त्री डा.आरजु राणाद्वारा गरिएको कुटनीतिक पहलको सह्राना गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खतिवडाले केआईआईटीको होस्टेलमा नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार र प्रकृति लम्सालको मृत्यु प्रकरणप्रति परराष्ट्र मन्त्रालयले गरेको कुटनीतिक पहलको प्रशंसा गरेका हुन् । परराष्ट्रमन्त्री र भारतस्थित नेपाली राजदूतावासबाट भएको पहलको उनले सार्थकता पाएको बताए ।

उनले भने, ‘भारतको ओडिसा राज्यको केआईआईटीमा भएको रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं. ८ बस्ने प्रकृति लम्साल निधनको खबरले सम्पूर्ण नेपालीहरू दुखित भएका छौँ ।’

‘पढ्न गएको विद्यार्थी के कारणले हत्या गर्ने अथवा आफूले हत्या गर्नुपर्ने अवस्था सिर्जना भयो त्यसको निष्पक्ष छानविनका लागि नेपाल सरकारले भारत सरकारलाई अनुरोध गर्नुपर्छ’, खतिवडाले भने, ‘निष्पक्ष छानविन भइ दोषीमाथि कारबाही गर्नुपर्छ ।’

‘केआईआईटीमा भएको घटनाप्रति क्याम्पसका उपकुलपति प्रा.शरणजित सिंहले माफी माग्नु भएको रहेछ’, सांसद खतिवडाले भने, ‘यो अवस्था सिर्जना गर्न पहल गर्नु हुने नेपालका परराष्ट्रमन्त्री र भारतस्थित नेपालका राजदूतावासप्रति धन्यवाद दिन चाहन्छु ।’

उनले भने, ‘एउटा नेपालीले मृत्युवरण गर्दैगर्दा अभिभावकको रुपमा नेपाल सरकारले गरेको पहलप्रति म परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासलाई धन्यवाद दिन चाहन्छु ।’

‘दुई जना सुरक्षा गार्ड पनि पक्राउ परेका छन् । जसले दुर्व्यवहार गरिएको थियो’, खतिवडाले भने, ‘अपशब्द नेपालीमाथि बोलिएको थियो । ती पक्राउ परेका रमाकान्त नायक र जोगेन्द्र बेहरालाई तुरुन्त आवश्यक कारबाहीका लागि न्यायिक हिरासतमा लिएको छ ।’

सभापति खतिवडाले भने, ‘तिनीहरूलाई कडाभन्दा कडा कारबाहीको लागि अनुरोध गर्न चाहन्छु ।’

‘प्रकृति लम्सालमाथि दुर्व्यवहार गर्ने आरभिक श्रीवास्तवलाई पक्राउ गरेर उनको फोन जफत गरेर हिरासतमा पठाइएको समाचार प्राप्त भएको छ’, उनले भने ।

‘नेपाली राजदूतावासबाट ओडिसामा दुईजना राजदूतावासका कर्मचारीहरू सञ्जीव शर्मा र नवीन अधिकारीलाई त्यहाँ पु¥याइएर नेपाली विद्यार्थीलाई बस्नका लागि सुनिश्चितता गर्ने, डर तर्सा, धम्की दिनेहरूलाई आफ्ठ्यारो परेको वातावरण सिर्जना नगर्नका लागि पहल गरेर त्यहाँ कर्मचारी पठाइएकोमा म नेपाली राजदूतावास, परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु’, खतिवडाले भने ।

‘प्रकृति लम्सालका पिता हत्या भएको ठाउँमा पुग्नुभएको छ । उहाँले आफ्नो छोरीको शव नेपाल ल्याउनको लागि पहल गरिदिन अनुरोध गर्नुभएको छ’, उनले भने ।

‘यस्तो बेला सबै प्रक्रिया पु¥याएर त्यहाँका अपराधीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाएर शव नेपाल ल्याउन नेपाल सरकारले सहयोग गर्ने वातावरण बनाउनुपर्छ’, कांग्रेसका सांसद खतिवडाले भने ।

‘केआईआईटीबाट निष्काषन गरिएका दुईजना कर्मचारीलाई आज क्याम्पसले बर्खास्थ गरेको र ३ जनालाई निलम्बन गरिएको समाचार पनि सुन्नमा आएको छ’, खतिवडाले भने, ‘नेपाली नागरिक त्यसरी दुखद् दुर्घटनामा पर्दा अभिभावकको रुपमा हाम्रो देश परराष्ट्र मन्त्रालय र सरकारले गरेको र त्यहाँ भएको दुर्व्यवहारलाई कारबाहीको प्रक्रियामा ल्याउन पहल गरेकोप्रति म धन्यवाद दिन चाहन्छु ।’

उनले भने, ‘यस्ता घटनामा जुनसुकै लेबलका मान्छे भए पनि नेपाल–भारतमा मात्रै होइन भारतदेखि अन्य देशमा रहेका विद्यार्थीलाई सुरक्षाको सुनिश्चितता गर्न आगामी दिनमा पहल गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।’

‘केआईआईटीमा ११ सयभन्दा धेरै विद्यार्थी नेपालबाट गएर अध्ययन गरेको तथ्याङ्क आएको छ । विद्यार्थी नेपालमा अध्ययन गर्ने वातावरण सिर्जना गर्नका लागि पनि यस्ता घटनाले नेपाली विद्यार्थीलाई नेपालमा त्यही स्तरको शिक्षा दिएर नेपालमा पढ्ने वातावरण सिर्जना गर्न पनि सरकारले पहल गर्नुपर्छ’, खतिवडाले भने ।

‘यसरी असुरक्षित विद्यार्थी र अन्य सबैप्रति परराष्ट्र मन्त्रालय र विशेष गरि मन्त्रीको चासोका साथ यती द्रुत गतिमा त्यहाँका विद्यार्थी र नेपालीहरूलाई हामी सुरक्षित छौँ भन्ने सुनिश्चितता गर्न पहल गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु’, सांसद खतिवडाले भने, ‘आगामी दिनमा यस्ता घटना नहुनका लागि सरकारले नयाँ काम र नयाँ पहल गरोस् ।’

‘जो सुकैले गरेको होस् त्यस्तो दुर्व्यवहार गर्ने जुन लेबलको विद्यार्थी, कर्मचारी, गार्ड होस त्यसलाई कडा कारबाही गरेर नेपाली विद्यार्थीलाई सुरक्षित भइ त्यही विश्वविद्यालयमा पढ्ने सुनिश्चितता गरोस् गर्नुपर्छ’, कांग्रेसका सांसद खतिवडाले भने ।

Published : Tuesday, 2025 February 18, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया