ओलम्पिक कमिटी हुलाकी हो, सरकार र अदालतको आदेश नमाने मूल्य चुकाउनुपर्छ : मन्त्री महर्जन
काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले ओलम्पिक कमिटीको अबैधानिक गतिविधिलाई आफूले नजिकबाट नियाली रहेको बताएका छन् ।
शनिबार राति नख्खु, ललितपुरमा इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिताक विजेता खेलाडीलाई पुरस्कार वितरण कार्यक्रममा मन्त्री महर्जनले सरकार र सर्वोच्च अदालतको आदेशलाई नमान्ने अबैधानिक ओलम्पिक कमिटीले दण्ड पाउने चेतावनी दिए । उनले ओलम्पिक कमिटी भनेको हुलाकी मात्रै भएको बताएका छन् ।
खेलकुदमन्त्री महर्जनले भने, ‘अखिल नेपाल टेबल टेनिस संघ दुईचिरामा छ । एउटालाई ओलम्पिक कमिटीले मान्यता दिइरहेको छ । जनु आधिकारिक छ यसलाई नेपाल सरकारले मान्यता दिएको नेपाल टेबुल टेनिस संघ हामीसँग छ । आधिकारिक टेबल टेनिस संघ भनेको अहिले हामीसँग भएको संघ नै हो ।’
महर्जनले सरकार र सर्वोच्च अदालतले दिएको आदेशलाई ओलम्पिक कमिटीले मान्नुपर्ने बताए । ‘ओलम्पिक कमिटी भनेको राष्ट्रिय खेलकुद परिषदको एउटा हुलाकी काम गर्ने हो । हुलाकी काम भनेको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छ, साफगेम हुन्छ, एशियन गेम हुन्छ, ओलम्पिक गेम हुन्छ । त्यसको दायित्व भनेको सरकारको हो’, उनले भने ।

‘खेलाडीको सहभागिता गराउने भनेको सरकारले हो । त्यसको आर्थिक भार व्यहोर्ने भनेको सरकारले हो । तर, ओलम्पिक कमिटीको काम भनेको के हो भने हुलाकीको काम गर्ने हो’, उनले भने ।
‘हुलाकीको काम भनेको जुन खेलाडी छनौट भएका छन्, जो साफगेममा खेल्न जाँदै हुनुहुन्छ, जो एशियन गेममा खेल्न जाँदै हुनुहुन्छ, जो ओलम्पिक गेममा खेल्न जाँदै हुनुहुन्छ । त्यहाँ जाने खेलाडीहरूलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पत्राचार गरिदिने काम मात्रै गरिदिने हो । त्यो भनेको हुलाकीको काम हो । त्यसरी बुझ्नु पर्यो’, खेलकुदमन्त्री महर्जनले भने ।
उनले भने, ‘अहिले ओलम्पिकले के गरिरहेको छभने तपाईहरूले देख्नुभएको छ । त्यहाँ ओलम्पिकले सरकारीलाई ढाँटेर, छलेर, सरकारको आदेशलाई अवहेलना गरेर, सर्वोच्च अदालतको आदेश अबहेलना गरेर सरकारलाई चुनौती दिने काम गरेको छ । यसको ठूलो चुनौती सामना गर्नुपर्नेछ । मूल्य चुकाउनुपर्ने हुन्छ ।’
‘उहाँहरूको जो जो यो कार्यमा सहभागिता जनाउनुभएको छ, जो जो अबैधानिक कमिटी भनिएको छ, त्यसमा जो जो सहभागी भएका छौँ, तिनीहरूको संघको खाता रोक्ने काम भएको छ’, उनले भने ।

‘जसले आधिकारिकता पाएका छैनन् । जसले वर्षौंदेखि चुनाव लड्न सकेका छैनन्, तदर्थवादमा चलेको छ, त्यो तदर्थवादमा चलेकोलाई बर्खास्थ गरेर अहिले नयाँ तदर्थ समिति राष्ट्रिय खेलकुद परिषदले नयाँ कार्यसमिति बनाउने थालनी गरिसकेको अवस्था छ’, मन्त्री महर्जनले भने ।
‘खाता रोक्का गर्ने प्रकृया शुरु भएको छ । त्यो गर्नलाई पनि सहास गर्नुपर्छ । खेलकुदमन्त्रीले सदस्यसचिवले केही हिम्मत गर्नुपर्छ । खाता रोक्का गर्नुपर्छ । ढिलाइ गर्नु हुँदैन । महिनौ बितिसक्यो’, महर्जनले भने, ‘मेरो अधिकार छैन । म बागमती प्रदेशको मन्त्री हुँ । म संघको खेलकुदमन्त्री भएको भए उनीहरूलाई उहिल्यै बर्खास्थ गरिदिन्थे, उहिल्यै संघको खाता रोक्का भइसक्थ्यो, पासपोर्ट खारेज हुन्थ्यो ।’
‘त्यो सहास र हिम्मत गर्नुपर्छ । कानून मिचेर, सर्वोच्च अदालतको आदेशलाई अबहेलना गरेमा मानहानी मुद्दा लाग्छ’, मन्त्री महर्जनले भने ।
‘अहिले कहाँ छ ? जुन ओलम्पिक कमिटी भनिएको छ । तपाईहरूको त्यो चतुरानन्द बैद्य होइन । चतुरानन्द बैद्यले अखिल नेपाल टेबल टेनिस संघमा प्रतिस्पर्धा गर्ने कुरा थियो । जब चुनावमा हार्ने भइसकेपछि चतुरानन्द बैद्यको लज्जास्पद हार हुने भइसकेपछि मैदान छोडेर भागेको मान्छे हो’, उनले भने ।
‘अबैधानिक ओलम्पिक कमिटीसँग मिलेर अहिले पनि टेबल टेनिस संघान विवाद ल्याउने, फुट ल्याउने, साथीभाइमा टुटाउने, फुटाउने गरेर राज गर्ने काम भइरहेको छ । त्यो कदापि सफल हुँदैन । यसको दण्ड भोग्नै पर्छ । यसको सजाय भोग्नै पर्छ’, युवा तथा खेलकुदमन्त्री महर्जनले भने ।
टेबलटेनिस प्रतियोगितामा प्रथम हुनेमा अनिता महर्जन, मुकेश महर्जन र राजेन्द्र बज्राचार्य रहेका छन् । प्रथम हुने तीन जनाले थाइल्याण्ड भ्रमणका लागि टिकेटसहितको प्याकेज पाएका छन् । उनीहरूले मेडल पनि पाएका छन् ।

प्रतियोगितामा हरिप्रसाद खरेल, राम महर्जन र रविन्द्र शाक्य दोस्रो भएका छन् । उनीहरूले पोखरासम्मको टिकटसहितको घुम्ने प्याकेज पाएका छन् । उनीहरूले पनि मेडल प्राप्त गरेका छन् ।
तेस्रो हुनेमा किरण व्यञ्जनकार, डिकेन महर्जन र चिरिकाजी महर्जन रहेका छन् । उनीहरूले मोबाइल सेट र मेडल पाएको आयोजकले जनाएको छ ।
पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महर्जनका साथै बागमती प्रदेश खेलकुद परिषदका सदस्य रवि महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष विजेन्द्र हमाल, र महासचिव कुवेर राना, इन्टरटेनमेन्ट टेबलटेनिस प्रतियोगिताका अध्यक्ष सुमन खड्गी लगायतको उपस्थिति रहेको थियो ।
छैठौं इन्टरटेनमेन्ट टेबलटेनिस प्रतियोगितामा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका क्लवसमेत गरि १३२ जना खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा भाग लिन आएका खेलाडी, प्रशिक्षक, कर्मचारीहरूलाई आयोजकले खाजा र खानाको व्यवस्था समेत गरिदिएको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया