परराष्ट्रमन्त्री डा.राणा ओमन प्रस्थान

काठमाडौं । आठौँ इन्डियन ओसन कन्फरेनमा सहभागी हुन परराष्ट्रमन्त्री डा.आरजु राणा ओमन प्रस्थान गरेकी छिन् ।

शुक्रबार मन्त्री डा. राणा ओमन प्रस्थान गरेकी हुन् । फेब्रुअरी २० सम्म मस्कटमा आयोजना हुने सम्मेलनमा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

मन्त्री डा.राणालाई परराष्ट्रसचिव अमृतबहादुर राई र परराष्ट्रका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका छन् ।

मन्त्री डा.राणालाई ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रण गरेका थिए । सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको सम्मेलनमा मन्त्री डा.राणाले नेपालका तर्फबाट सहभागिता जनाउने छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने सम्बन्धी सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा.राणाले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री एवं अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । डा.राणा फेब्रुअरी २० मा स्वदेश फर्कने कार्यक्रम छ ।

Published : Friday, 2025 February 14, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया