भोजपुर कांग्रेसले बुझायो विवरणसहितको प्रतिवेदन, कठिन समयमा संयुक्त प्रयासको सुरुवात
काठमाडौं । नेपाली कांग्रेस भोजपुरले जिल्ला अधिवेशन सम्पन्न गरेको विवरणसहितको प्रतिवेदन बुझाएको छ ।
शुक्रबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत भोजपुर जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका नेता उत्तम चापागाईंले विवरणसहितको प्रतिवेदन बुझाएका हुन् । ‘नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन अन्तर्गत भोजपुर जिल्लामा रहेका सबै पालिका, दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र र जिल्ला सभापतिसहितको विवरण बुझाएका छौँ,’ नेता चापागाईंले भने ।
भोजपुर कांग्रेसको सभापतिमा धर्मराज राई सर्वसम्मत निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधि चापागाईंका अनुसार सात गाउँपालिका, दुई नगरपालिका, दुई प्रदेश सभा निर्वाचन क्षेत्र, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको विवरण बुझाइएको छ ।
नेपाल तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका नेता चापागाईंले भोजपुर जिल्लाको संगठन निर्माणका लागि आफूहरूको सामूहिक प्रयास जारी रहेको बताएका छन् । उनले कांग्रेसलाई बचाउन कठिन अवस्थाबाट आफूहरूले संगठन निर्माणको कामको सुरुवात गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया