अख्तियारद्वारा सर्लाही मालपोतका हाकिमसहित सात जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन प्रमुख पनिलाल यादवसमेत सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।

बिहीबार अख्तियारले विशेष अदालत, काठमाडौंमा तत्कालीन प्रमुख यादव, तत्कालीन नायव सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार, सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडा सचिव रामगुलाम राय, वडा नं. १५ का तत्कालीन वडाध्यक्ष कपिलदेव चौधरी तथा जग्गा प्राप्त गर्ने किशोरी धामी थारू र जग्गा प्राप्त गर्न सिफारिस तथा निवेदन दिने भोसा धामी थारूविरुद्ध मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साविक सोकनाहा गाविस वडा नं २ (ख) अन्तर्गत पर्ने कित्ता नं ६२ क्षेत्रफल ०–११–२ जबि जग्गा मालपोत कार्यालय, सर्लाहीका कर्मचारी तथा भू–माफिया समेतको मिलेमतोमा फर्जी जग्गाधनी पूर्जा बनाई बेचबिखन गरेको भन्नेसमेत बेहोराको उजुरी प्राप्त भएको थियो ।

अनुसन्धान हुँदा उक्त जग्गा दर्ता गर्ने प्रयोजनका लागि हुँदै नभएको तथ्य खडा गरी रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको जग्गालाई कुनै पनि समयमा हकभोग नभएका किशोरी धामी थारू र भोला धामी थारूको नाममा हकभोगमा रहेको भनी कार्यालयमा भए रहेको विवरण सच्याई एउटा व्यक्तिको नाममा हक भोग रहेको जग्गा अर्कै व्यक्तिको नाममा कायम गरी स्रेस्ता पूर्जा तयार गरिएको थियो ।

सो कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख यादवसमेतका प्रतिवादीहरूको एक आपसको मिलेमतोमा आफूसमेतलाई गैरकानूनी लाभ र जग्गाधनीलाई प्रत्यक्ष हानिनोक्सानी पुन्याउने बदनियतले भएका तथ्यहरू लुकाई छिपाई हुँदै नभएको जग्गाधनी खडा गरी किशोरी धामी थारूको नाममा दाखिल खारेज गरी गलत व्यक्तिको नाममा दर्ता गरी गलत लिखत तयार गरी सरकारी निकायको कागजात अनाधिकृत हेरफेर थपघट गरे गराएको अख्तियारले जनाएको छ ।

Published : Thursday, 2026 November 26, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया