गृह मन्त्रालयको निर्देशन पालना नगरेपछि निलम्बन
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
शुक्रबार गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै बारम्बार दिइएको निर्देशन एन–प्याब्सनले पालना नगरेको, संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीतका कार्यहरू गरेपछि निलम्बन गरिएको जनाएको छ ।
एन–प्याब्सन मंसिर २५ गते २०५४ मा गृह मन्त्रालयमा दर्ता भएको थियो । २०७८ मा नेपालगञ्जमा भएको ७ औं महाधिवेशनदेखि विवाद देखिएको थियो । त्यसयता दुई समूह बनाएर एन–प्याब्सनका नाममा छुट्टाछुट्टै गतिविधि सञ्चालन हुँदै आएका थिए ।
कम्पनीमा दर्ता भएका निजी विद्यालय सञ्चालकहरूको मात्रै संलग्नतामा एन–प्याब्सनको स्थापना भएको थियो । यस्तै प्रकृतिको निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनमा पनि छ ।
नेपालगञ्जमा २०७८ मा भएको ७औं अधिवेशनबाट नै एन–प्याब्सनमा फुट देखिएको थियो ।
गृह मन्त्रालयले एन–प्याब्सन सम्बद्ध पदाधिकारीले मंसिर १२ गते २०८२ मा दिएका निर्देशन पालना नगरेको जनाएको छ । उनीहरूसँग गृह मन्त्रालयले असोज २३ गते २०८३ मा समेत छलफल गरेको थियो । सूचनामा अर्को निर्णय नभएसम्म लागि निलम्बन गरिएको जनाइएको छ । कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानूनी हुने जनाइएको छ ।
त्यस विपरीत कार्य गरे कानून बमोजिम कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया