बिचौलिया इनम प्रकणमा जोडिएका न्यायाधीशहरूमाथि छानविन गर्न नेपाल बारको माग

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएर आएका पछिल्ला समाचारका विषयमा छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेको छ ।

शुक्रबार बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विगत केही दिनदेखि सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशको सम्बन्धमा प्रकाशित समाचारहरूले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, गरिमा, जनविश्वासमा आघात पुग्न गएको तथ्यलाइ नकार्न सकिँदैन ।’

न्यायपालिकाको विषयमा सार्वजनिक भएका विषयले जनविश्वासमै आघात पुगेको भन्दै सर्वोच्च बारले यसबारेमा सत्यता सार्वजनिक हुनुपर्ने माग गरेको हो ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि थुनामा रहेका इनम सापकोटासँग न्यायाधीश हरिप्रसाद फुयालको ह्वाट्सएपमा कुराकानी भएको र हिमालय होटलमा भेट भएको विषयले अहिले न्यायालयमाथि प्रश्न उठिरहेको छ ।

‘न्यायपालिकाको स्वतन्त्रता र न्यायिक मर्यादालाई अक्षुण्ण राखे प्राथमिक न्यायिक तथा नैतिक कर्तव्यबाट विचलित नभई न्याय सम्पादनको कार्य निर्भिकताका साथ गर्न सक्ने वातावरण निर्माण गर्नका निमित्त सरोकारवालालाई बार एसोसिएसनले अनुरोध गर्दै प्रकाशित समाचार सामग्रीहरू, सम्माननीय र माननीय न्यायाधीशज्यूबाट आएको विज्ञप्ति एवम् अभिव्यक्तिहरूको समेतका आधारमा न्यायको मान्य सिद्धान्त बमोजिम पूर्वाग्रही नभई साधिकार निकायलाई निष्पक्ष छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न यस बार एशोसिएशन जोडदार माग गर्दछ,’ बारले भनेको छ ।

बारले योसँगै संवैधानिक इजलास गठनसम्बन्धी विवाद, न्यायिक कार्यमा बाहिरी प्रभाव, न्याय सम्पादनमा बिचौलियाहरूको संलग्नताले गर्दा अदालतको संस्थागत विश्वसनियता, निष्पक्षता, न्यायपालिका र न्याय प्रणालीकै जनआस्थामा ह्रास आएको निष्कर्ष निकालेको छ ।

Published : Friday, 2026 October 30, 1:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया