सीआईबीद्वारा एक करोड बैंकिङ् कसूरका फरार प्रतिवादीलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अदालतबाट दोषी ठहर भएपछि फरार रहेका ४२ वर्षीय लक्ष्मण थोकरलाई पक्राउ गरेको छ ।

मंगलबार काठमाडौंको महाबौद्धबाट सीआईबीको टोलीले थोकरलाई पक्राउ गरेको सीआईबीका एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बाटा ट्रयाक्टर्स प्रा.लि.को तर्फबाट अख्तियार प्राप्त दिनेश गतराजको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लक्ष्मण थोकर भएको बैंकिङ्ग कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतको मिति २०८३ असोज २ गतेको फैसलाले काठमाडौं थोकरलाई जरिवाना र कैद सजाय फैसला भएको थियो ।

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं.६ बस्ने पुष्पाञ्जलि लक्की निर्माण सेवाका संचालक दुर्गाबहादुर थोकरको लक्ष्मण थोकरलाई १ करोड ३ लाख रुपियाँ बिगो तथा सोको पाँच प्रतिशतले हुने जरिवाना र ६ महिना कैद ठहर भएको थियो ।

उक्त सजाय बेरुजू भई फरार रही काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा सीआईबीको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. २७ महाबौद्धबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2026 October 6, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया