दाङ १ का क्षेत्रीय सभापति पाण्डे कांग्रेसको अधिवेशनका बाँकी कार्यक्रममा सहभागी नहुने, उम्मेदवारी पनि फिर्ता

लमही । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे आफ्नो जिम्मेवारी र दायित्वअनुसार अधिवेशन गराएर आफू महाधिवेशनको प्रक्रियाबाट बाहिरिएका छन् ।

मंगलबार दाङ क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनको निर्वाचन प्रक्रिया भएको छ । निर्वाचनका लागि क्षेत्रीय सभापति पाण्डेले महाधिवेशन प्रतिनिधिमा मनोनयन दर्ता गराएका थिए । तर, पछि सभापति पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् ।

क्षेत्रीय सभापति पाण्डेले भने, ‘म दाङ क्षेत्र नं. १ को क्षेत्रीय सभापति हुँ । मेरो दायित्व अधिवेशन गरेर निर्वाचन प्रक्रियाबाट आउने नेतृत्वलाई हस्तान्तरण गर्नु थियो । त्यो जिम्मेवारी पूरा गरेँ । तर, म आफू भने निर्वाचन प्रक्रियामा भाग लिएन । अब १५औँ महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी हुँदैन ।’

सभापति पाण्डेले भने, ‘नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । त्यो विषयलाई पनि हामीले सम्मान गर्नुपर्छ । सर्वोच्च अदालतको अन्तिम फैसलालाई पनि सम्मान गर्नुपर्छ ।’

कांग्रेसभित्र देश र विदेशीहरूको शक्ति संघर्षले आफूहरू जस्ता नेता तथा कार्यकर्ताहरू सबैभन्दा धेरै समस्यामा परेको बताएका छन् ।

क्षेत्रीय सभापति पाण्डेसँग नेता कर्णबहादुर बुढाले पनि केन्द्रीय महाधिवेशनमा भाग नलिन घोषणा गरेका छन् । बुढाले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिए पनि फिर्ता लिएका छन् ।

पाण्डे र बुढाथोकीले सहमति, सहकार्य र एकतालाई प्राथमिकता दिँदै तथा युवाहरूलाई नेतृत्वमा अवसर प्रदान गर्ने उद्देश्यले महाधिवेशनमा भाग नलिने निर्णय गरेको जानकारी दिएका छन् ।

कांग्रेसको संगठनलाई थप एकताबद्ध र सुदृढ बनाउन सहमति तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनीहरूले नयाँ पुस्ता र युवाहरूलाई नेतृत्वमा अगाडि बढाउने वातावरण निर्माण गर्न आफूहरू सकारात्मक भएको बताएका छन् ।

दाङ १ का क्षेत्रीय सभापति पाण्डेले नेपाली कांग्रेस दाङको जिल्ला सभापतिका लागि तयारी गरेका थिए । कांग्रेस दुई समूहमा बिभाजन भएर नेपाली कांग्रेस बिभाजनको संघारमा पुगेपछि दिक्क भएका पाण्डेले आफू क्षेत्रीय अधिवेशनपछि अन्य कुनै पनि अधिवेशनको प्रक्रियामा सहभागी नहुने जनाएका हुन् ।

क्षेत्रीय सभापति पाण्डे शेरबहादुर देउवा निकट मानिन्छन् । तैपनि पाण्डेले कांग्रेसमा बृहत एकताका लागि प्रयास गरेका थिए । क्षेत्रीय सभापति पाण्डेको शरीर तथाकथित विशेष महाधिवेशनवालातिर रहे पनि मन भने शेरबहादुर देउवातिरै रहेको दाङ कांग्रेसका इमान्दार नेता तथा कार्यकर्ताहरूले बताउने गरेका छन् ।

क्षेत्रीय सभापति पाण्डे दाङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसको इमान्दार खम्बाका रुपमा परिचित छन । कांग्रेसलाई गगन थापाले हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेपछि क्षेत्रीय सभापति पाण्डे निकै निराश बनेका थिए ।

Published : Wednesday, 2026 September 30, 1:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया