देउवाले अर्को पक्षको महाधिवेशन उद्घाटन गर्ने सम्भावना छैन, न्याय मरेको छैन, न्याय पाउँछौँ : डा.महत
पोखरा । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले आयोजना गरेको महाधिवेशनको शेरबहादुर देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको बताएका छन् ।
बुधबार पोखरामा आयोजित कार्यक्रममा पूर्वमन्त्री समेत रहेका नेता डा.महतले भने, ‘शेरबहादुर देउवा नै महाधिवेशन उद्घाटन कार्यक्रममा आउँदै हुनुहुन्छ भनेर झूटको प्रचार गरिँदै छ । विशेष अधिवेशनबाट आएका पदाधिकारी साथीहरू यस्तो झूट कुरा भन्न हिचकिचाउनुहुन्न ।’
देउवाले १४औँ अधिवेशनबाट निर्वाचित सभापति आफू भएकाले १५ औँ अधिवेशन गरेर हस्तान्तरण नेतृत्व हस्तान्तरण गर्छु भनेर स्पष्ट रूपमा भनिसकेको डा.महतले बताए । उनले भोलि सुरु हुने वडा अधिवेशन नै कांग्रेसको आधिकारिक भएको बताएका छन् ।
सहमतिको लागि १५ औँ अधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोज्दा गगन थापाले नमानेको डा.महतले बताएका छन् ।
उनले भने, ‘अरू केही चाहिएन, अहिले जे भयो भयो । तर, १५औँ अधिवेशनबाट आउने नेतृत्व निष्पक्ष, पारदर्शी ढङ्गबाट सबैको सम्मानजनक सहभागिता हुनुपर्छ भन्ने कुरालाई उहाँहरूले कुनै गम्भीरताका साथ दिनुभएन । त्यसैले हामी अदालतमा पुनरावेदनको लागि गयौँ ।’
नेता डा.महतले यसअघिको फैसला त्रृटीपूर्ण भएकै कारणले सर्वोच्चले आफूहरूलाई निस्सा दिएको बताएका छन् ।
डा.महतले भने, ‘हामी एउटा सत्यको पक्षमा उभिएका छौँ । सत्यको अवश्य पनि जित हुन्छ । अदालतले त्रुटिपूर्ण छ भनिसकेको छ ।’
‘नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने हाम्रो विश्वास छ । न्याय पाउँछौँ,’ डा.महतले भने, ‘त्यो न्याय पाइएन भने त न्याय नै मरिसकेछ भन्ने हुन्छ ।’
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया