पार्टीको आधिकारिकता र चुनाव चिह्न ‘रुख’ कसको भन्ने विवाद अझै टुंगिएको छैन : कांग्रेस नेताहरू
बाजुरा । नेपाली कांग्रेस बाबजुराले पार्टीको आधिकारिकता र चुनाव चिह्न ‘रुख’ कसको भन्ने विवाद अझै टुंगिनसकेको जाएको छ ।
बुधबार बाजुरामा पत्रकार सम्मेलन गरेर शेरबहादुर देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतमा विचाराधीन विषयमा भ्रम नफैलाउन आग्रह गरेका हुन् ।
नेपाली कांग्रेस बाजुरा १५औँ महाधिवेशन तयारी समितिका संयोजक धनराज पण्डितले पार्टीको आधिकारिकता, नेतृत्व र चुनाव चिह्नसम्बन्धी कानूनी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कुनै पक्षले आफूलाई विजेता घोषणा गर्नु उचित नभएको बताए ।
पत्रकार सम्मेलनमा पूर्वजिल्ला सभापति कविराज पण्डितले कांग्रेसको आधिकारिकता र ‘रुख’ चुनाव चिह्नसम्बन्धी कानुनी लडाइँ जारी रहेको बताए । उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा कुनै एउटा पक्षले आफ्नो पक्षमा फैसला भइसकेजस्तो गरी प्रचार गर्नु गलत भएको बताए ।
‘कानूनी लडाइँ जारी छ । अहिले कांग्रेस र रुख कसको भन्ने विषय सर्वोच्च अदालतमा विचाराधीन छ । यस्तो अवस्थामा ‘मेरो’, भन्दै जनतालाई भ्रम फैलाउने काम गलत हो । अदालतले फैसला गर्न बाँकी रहेको विषयमा आफैं फैसला गरेजस्तो प्रस्तुत गर्नु उचित हुँदैन,’ पण्डितले भने ।
पण्डितले विचाराधीन मुद्दालाई बेवास्ता गर्दै वडा तथा पालिका अधिवेशनको प्रक्रिया अघि बढाइएकोप्रति समेत आपत्ति जनाएका छन् ।
आफूहरूको असहमति पार्टी विभाजन वा दुईवटा कांग्रेस बनाउने विषयमा नभएको उनले बताएका छन् ।
‘हामी विशेष विषयमा मात्रै असहमत छौँ,’ उनले भने, ‘दुई हुने वा पार्टी फुटाउने हाम्रो नियत होइन ।’
कांग्रेस नेता तथा पूर्वप्रदेश प्रमुख देवराज जोशीले पार्टीभित्र छलकपट र भ्रमको राजनीतिभन्दा विधि, विधान र सत्यका आधारमा अघि बढ्नुपर्ने बताए । आफूहरूको पक्षमा नभएको तथ्यलाई प्रचार गरेर जनमत निर्माण गर्ने प्रयास सफल नहुने उनको दाबी थियो ।
‘छलकपट होइन, विधि र विधानअनुसारको राजनीति गर्नुपर्छ । भ्रम र झुटबाट मुक्त भएर अघि बढ्नुपर्छ । दाबी गर्दैमा कुनै कुरा सत्य हुँदैन,’ जोशीले भने ।
पत्रकार सम्मेलनमा सहभागी नेताहरूले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले कार्यकर्तालाई कुनै ‘ललिपप’ देखाएर भ्रमित नगर्ने आग्रह गरेका छन् । आफूहरूलाई २० देखि ३० प्रतिशत पनि समर्थन नरहेको भन्दै प्रचार भइरहेको उल्लेख गर्दै उनीहरूले त्यसको जवाफ आगामी अधिवेशनमा कार्यकर्ताको सहभागिता र उत्साहले दिने बताए ।
नेताहरूले कांग्रेसको संगठनात्मक प्रक्रिया विधि र विधानअनुसार अघि बढ्ने भन्दै देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने जानकारी दिए ।
प्रदेश सभापति वीरबहादुर बलायरले १५औँ महाधिवेशनमा सभापति बनाएर एकताको महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको भन्ने विषयमा नेता रनसिंह अयडीले समेत प्रश्न उठाए । उनले यो विषयमा पनि भ्रम फैलाउने काम भइरहेको बताए ।
अयडीले कांग्रेसलाई हाइज्याक गरेर एकपक्षले आफ्नो नियन्त्रणमा लिने प्रयास सफल नहुने बताए । पार्टीभित्रको असहमति विचार र विधिको विषय भएको भन्दै उनले यसलाई पार्टी विभाजनका रूपमा बुझ्न नहुने धारणा राखेका छन् ।
पत्रकार सम्मेलनमा कांग्रेस नेता तथा पूर्वप्रदेश प्रमुख देवराज जोशी, पूर्वबाजुरा जिल्ला सभापति कविराज पण्डित, नेता नारायण पाध्याय, रनसिंह अयडी, नरबहादुर रावतलगायत नेताहरूको सहभागिता थियो ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया