पर्वतमा असोज २३ सम्म वडा अधिवेशन सम्पन्न गर्न आग्रह, मल्लद्वारा ३ र ४ गते छुटेकाहरूलाई पनि सहभागी हुन अपील
कुश्मा । नेपाली कांग्रेस, पर्वत १५औँ महाधिवेशन निर्वाचन तयारीका जिल्ला संयोजक यामबहादुर मल्ल (रामकृष्ण) असोज २३ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने गरी अगाडि बढ्न आग्रह गरेका छन् ।
मंगलबार प्रेस विज्ञप्ति जारी गरेर पर्वत कांग्रेसका शेरबहादुर देउवा पक्षीय संयोजक मल्लले भने, ‘विपद्, चाडपर्व तथा स्थानीय परिस्थितिलाई मध्यनजर गर्दै मेरो संयोजकत्वमा रहेको नेपाली कांग्रेस पर्वत १५औँ महाधिवेशन निर्वाचन तयारी/समन्वय समितिको जिल्ला, क्षेत्रीय, पालिका तथा वडा तहका साथीहरूको सल्लाह र समन्वयअनुसार १५औँ महाधिवेशनअन्तर्गतका वडा अधिवेशनहरू असोज २३ गतेसम्म सम्पन्न गर्ने गरी अगाडि बढ्न सम्पूर्ण साथीहरूलाई अनुरोध गर्दछु ।’
असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिरोका कारण पर्वतलगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै संयोजक मल्लले घर, उद्योग, सडक, पुल तथा अन्य संरचनामा क्षति पुगेको र कतिपय परिवार घरबारविहीन भएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
‘यस दुःखद् अवस्थामा घरबारविहीन परिवारलाई तत्काल सुरक्षित बसोबास, खाना, स्वास्थ्य तथा आवश्यक राहतको व्यवस्था गर्न, क्षतिको यथार्थ विवरण तथा मुचुल्का तयार गरी पुनर्निर्माण गर्न र क्षतिग्रस्त सडक तथा संरचना यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग आग्रह गर्दछु,’ मल्लले भने ।
उनले परिस्थिति सहज भएका वडाहरूमा अधिवेशनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
पर्वत कांग्रेस संयोजक मल्लले तथाकथित विशेषवालाहरूको असोज ३ र ४ गतेको अधिवेशन प्रक्रियामा सहभागी हुन नसकेकाहरूलाई पनि असोज १५ गतेदेखि शुरु हुने अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।
‘यसअघि असोज ३ र ४ गतेको पहिलो चरणको प्रक्रियामा सहभागी हुन नसक्नुभएका साथीहरू पनि वर्तमान प्रक्रियामा समावेश हुन सक्नुहुनेछ,’ संयोजक मल्लले भने, ‘नयाँ क्रियाशील सदस्यता प्राप्त गर्नुभएका तथा सदस्यता लिन इच्छुक साथीहरूले पनि सम्बन्धित पार्टीका साथीहरूसँग सम्पर्क गर्नुहोस् ।’
‘नेपाली कांग्रेस लोकतान्त्रिक र समावेशी पार्टी हो । विगतमा पार्टीबाट बाहिरिनुभएका साथीहरू तथा कांग्रेसको विचार र सिद्धान्तमा विश्वास गर्ने सबै साथीहरूलाई पार्टीको मूलधारमा जोडिन हार्दिक आह्वान गर्दछु,’ संयोजक मल्लले भने ।
‘कसैलाई पनि वञ्चित नगरी सबैलाई समेटेर कांग्रेसलाई अझ बलियो बनाउने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘अधिवेशनसम्बन्धी कानूनी तथा प्रक्रियागत विषयहरूको अन्तिम टुंगो सम्बन्धित निकायबाट हुने भएकाले कुनै भ्रम वा अन्योलमा नपरी संगठनलाई बलियो बनाउने उद्देश्यका साथ सबै साथीहरू सक्रिय रूपमा सहभागी हुन अनुरोध गर्दछु ।’
‘कांग्रेस एउटै हो, हामी सबै कांग्रेस हौँ । एकता, सहभागिता र संगठनको बलबाट नेपाली कांग्रेसलाई अझ बलियो बनाऔँ,’ संयोजक मल्लले भने ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया