सिन्धुपाल्चोक कांग्रेसको अधिवेशनमा भाँडभैलो, मतदान शुरु भइसकेको अवस्थामा निर्वाचन नै रोकियो

चौतारा । तथाकथित विशेष महाधिवेशनवालाहरूबीच भाँडभैलो भएपछि नेपाली कांग्रेस सिन्धुपाल्चोकको दुई वटै क्षेत्र र ४ वटा प्रदेश सभाको अधिवेशनको निर्वाचन बिथोलिएको छ ।

निर्वाचन अधिकृतले सिन्धुपाल्चोकका दुबै क्षेत्रको अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगन भएको सूचना प्रकाशित गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र नं. १ मा उम्मेदवारकै नाम मतदाता सूचीमा नभेटिएपछि विवाद भएको थियो । सिन्धुपाल्चोक २ मा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मत पत्रहरू देखिएपछि बबण्डर भएको छ ।

मंगलबार मेलम्चीमा सिन्धुपाल्चोकको क्षेत्र नं. २ मा क्षेत्रीय तथा दुई वटा प्रदेश सभाहरूको अधिवेशन हुने कार्यक्रम थियो । अधिवेशन भइरहेका बेला बंशलाल तामाङको समूहले टेबल, कुर्सीलाई लात्ताले हानेर अराजक गतिविधि देखाएपछि विवाद भएको थियो ।

मेलम्ची नगरपालिकाका नगरप्रमुख समेत रहेका सिन्धुपाल्चोक २ का क्षेत्रीय सभापति आइतमान तामाङ र बंशलाल तामाङ समूहबीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो । बंशलाल तामाङले मतपेटी, टेबल र कुर्सीमा प्रहार गर्नुका साथै मुख छाडेर गालीगलौज गरेका थिए ।

अधिवेशनमा भाग लिएकै तथाकथित विशेष महाधिवेशनवाला समूहबीच विवाद भएपछि निर्वाचन अधिकृतले अर्को सूचना नभएसम्म मतदान प्रक्रिया स्थगन गरेका हुन् ।

मतदात प्रक्रिया अगाडि बढिसकेको अवस्थामा आधा भइसकेपछि बंशलाल तामाङ र आइतमान तामाङ समूहबीच बबण्डर भएको थियो ।

उता, बाह्रबिसेमा सिन्धुपाल्चोक १ को अधिवेशन जिल्ला सभापति जंगबहादुर लामासहितको समूहले गराउन सकेको छैन । उनीहरूको समूहबीच विवाद भएपछि निर्वाचन प्रक्रिया बिथोलिएको छ ।

निर्वाचन प्रक्रियामा सहभागी भएका मतदाता र उम्मेदवारकै नाम मतदाता सूचीमा नभएपछि बबण्डर भएको छ । सिन्धुपाल्चोकका सबै क्षेत्रको मतदातान प्रक्रिया शुरु भइसकेको अवस्थामा निर्वाचन अधिकृतले रोकेका छन् ।

Published : Tuesday, 2026 September 29, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया