माओवादीबाट मेयरमा हारेका ‘कमरेड’ बस्नेत सिन्धुपाल्चोक कांग्रेसमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार

चौतारा । सिन्धुपाल्चोकमा तत्कालीन समयमा नेपाली कांग्रेस परित्याग गरेर नेकपा (माओवादी केन्द्र)बाट बाह्रबिसे नगरपालिकाको मेयर पदको उम्मेदवार बनेर पराजित बनेका बुद्धराज बस्नेत फेरि कांग्रेसमा हालीमुहाली गर्न आइपुगेका छन् ।

कांग्रेसले टिकट नदिएको भन्दै असन्तुष्टि जनाएर तत्कालीन समयमा नेकपा (माओवादी केन्द्र) अर्थात् ‘कमरेड’ बनेका बस्नेत अबसरको खोजीमा फेरि कांग्रेसमा फर्किएका छन् । सिन्धुपाल्चोकका केही कांग्रेसी नेताहरूलाई खुसी बनाएर पार्टीभित्र हालिमुहाली गर्न थालेका छन् । बस्नेतको यो गतिविधि धेरैलाई चित्त बुझेको छैन ।

माओवादीबाट कांग्रेसमा फर्किने मात्रै होइन बस्नेतले नेपाली कांग्रेस अर्थात् बदलिएको २.० कांग्रेसको नाममा सिन्धुपाल्चोकमा उत्पात नै गर्न थालेका छन् ।

सिन्धुपाल्चोकमा वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेका बस्नेत महाधिवेशन प्रतिनिधि बन्नका लागि उम्मेदवारी घोषणा गरेर जोडतोडले प्रचार शुरु गरेका छन् । उनले प्रचार शुरु गरेपछि बिरोध पनि भइरहेको छ । कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामालाई आर्थिक प्रलोभनमा पारेर बस्नेतले हालीमुहाली गरेको आरोप पनि छ । सभापति लामालाई अधिवेशनको खर्चका नाममा बस्नेतले आर्थिक सहयोग गरेको एक नेताले दाबी गरेका छन् ।

व्यापारिक पृष्ठभूमिका बस्नेत अबसर पाउन र लिनका लागि जे पनि गर्छन् भन्ने उदाहरणको मूर्ति बनेका छन् ।

बस्नेत कांग्रेस छाडेर माओवादी बने । तत्कालीन समयमा माओवादी नेता अग्नि सापकोटाको आशीर्वादले बाह्रबिसे नगरपालिकाको मेयरको उम्मेदवार पनि बने । निर्वाचनमा परिाजित भए । कांग्रेसबाट अबसर पाउने सम्भावना देखेपछि माओवादीलाई लात हानेर फेरि ‘खाँटी कालो कांग्रेस’ बनेका छन् ।

बस्नेतको यो गतिविधिबाट सिन्धुपाल्चोक कांग्रेसका इमान्दार नेता तथा कार्यकर्ताहरू चकित परेका छन् । सिन्धुपाल्चोक कांग्रेसमा यस्तै भगौडा कांग्रेसीहरूको हर्कत र गतिविधिले स्थानीय इमान्दार नेता तथा कार्यकर्ताहरू चिन्तित बनेका छन् ।

कांग्रेस छाडेर माओवादी र माओवादी छाडेर कांग्रेस बनेका बस्नेतको कुनै भर छैन । कांग्रेसबाट अबसर पाएनन् भने फेरि पनि अर्को कुनै दलमा जहिले पनि जान सक्नेछन् । बस्नेत जस्ता नेताको गतिविधिलाई सिन्धुपाल्चोक कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरूले ध्यान दिएर उपयुक्त निर्णय लिनुपर्ने एक नेताले बताएका छन् । बस्नेतबाट कांग्रेसलाई भविष्यमा फेरि पनि धोका हुन सक्ने सिन्धुपाल्चोक कांग्रेसका नेताहरूले बताएका छन् ।

नेपाली कांग्रेस बस्नेत जस्त नेताहरूले खेलौना बनाएको सिन्धुपाल्चोक कांग्रेसका नेता तथा कार्यकर्ताहरूले रुचाएका छैनन् । माओवादी छाडेर कांग्रेसमा आउनु र महाधिवेशन प्रतिनिधिको उम्मेदवार वा अन्य पदमा रहनुमा खासै भिन्नता छैन । तर, राजनीतिक नैतिकताको विषय सिन्धुपाल्चोक कांग्रेसमा उठेको छ । बस्नेत जस्ता व्यक्तिले कांग्रेसलाई कमजोर र खेलौना ठान्ने प्रवृत्तिको स्थानीय नेता तथा कार्यकर्ताहरूले बिरोध गरेका हुन् ।

Published : Monday, 2026 September 28, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया