गगन थापा प्रधानमन्त्री बन्न खोज्नु भएको होइन, उहाँसँग क्षमता छैन : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापाजीमा प्रधानमन्त्री बन्ने गुण र क्षमता नरहेको बताएका छन् ।

आइतबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ ले आयोजना गरेको अगुवा कार्यकर्ता तथा बृहत भेलालाई सुकेधारामा सम्बोधन गर्दै नेता बस्नेतले प्रधानमन्त्री बन्ने क्षमता गगन थापामा नरहेको बताएका हुन् । उनले भने, ‘गगन थापा प्रधानमन्त्री बन्न खोज्नु भएको होइन भन्या । त्यो उहाँसँग क्षमता पनि छैन । इतिहासमा उहाँ कहिल्यै प्रधानमन्त्री हुनु पनि हुन्न । म आज पनि भन्दिन्छु । उहाँ हुँदैन ।’

‘यहाँ (काठमाडौं ४)को जनताले भोट दिँदैनन्, म हार्छु भनेर उहाँ (गगन) भागेकै हो नि ? मेरै सिन्धुपाल्चोकका कार्यकर्ताहरूले गगन थापाले कुरा गर्छ काम गर्दैन बकमफुसे कुरा गर्छ भेट्न पनि दिँदैनन, फोन पनि उठाउँदैन भन्छन्,’ नेता बस्नेतले भने ।

‘कपन एरियाका साथीहरूले के भन्नुभयो भने हरेक वर्षात् लाग्यो भने यो कपनबाट भाग्नु पर्ने हुन्छ, कपन डुब्छ । केही गर्दैन, काममा त्यस्तो छ । गगन थापाजी सैद्धान्तिक र बैचारिकरुपमा कसले के अह्रयाउँछ, समय परिस्थितिअनुसार लाभको खेती गर्ने मान्छे हो,’ नेता बस्नेतले भने ।

नेता बस्नेतले वीपीको बिचारलाई गगन थापाले छाडिसकेको भन्दै वीपीको तस्बिरको ठाउँमा आफ्नो (गगन)को तस्बिर राख्ने भनिसकेको बताए । उनले भने, ‘प्रजातान्त्रिक समाजवाद वीपीको सिद्धान्त, उहाँ अलिहेसम्म सोसल डेमोक्रेसीको कुरा गरेर हिँडेको हो नि । उहाँ (गगन)ले सम्भव भएसम्म वीपीको फोटो होइन, मेरो (गगन) फोटो राख भनेर कार्यकर्ताहरूलाई अह्राएको छ ।’

उनले भने, ‘गएको चुनावमा पनि मेरो क्षेत्र साटियो, त्यहाँ पनि गएर मैले १२ हजार फरकको मतबाट जितेको हुँ । त्यहाँ पनि उहाँ (गगन)ले पूर्व क्षेत्रीय सभापति, दुई पटक महासमिति सदस्य भएको मान्छेलाई उहाँले उम्मेदवार बनाउनुभयो, मेरोबिरुद्धमा । अनि मलाई भन भन्नुभयो । किन भन्ने लड्न दिनुस् न ।’

‘सबैले लडेर पराजित गरेर जितेर आउने पो नेता हुन्छन् । दश जनाको घरमा भोट माग्न जानु कि त्यहाँ भोट देउ भन्नु । त्यहाँ दर, रेटका कुरा होलान् । कसले कति दिएर लागेको छ । त्योभन्दा बढी मैले दिनुपर्ने होला । मैले किन दिने ? क्षेत्रीय सभापति भइसकेको मान्छेको जनता यसरी उर्लिए, साथीभाइहरू अन्तरघातमा ठूलै पिंढी लागिरहेको थियो,’ बस्नेतले भने ।

‘मैले बोलाएर कुरा गरेँ । सबैलाई सम्झाइ बुझाइ गरेँ । कसैलाई अनुरोध गरेँ । कसैलाई मेरै भाषामा आवश्यक परेको खण्डमा गर्ने तरिकाले गरेँ । त्यो स्वतन्त्र उम्मेदवार (क्षेत्रीय सभापति)को भोट १५ भोट आयो । उसलाई पनि बिगारे, एउटा होनहार कार्यकर्ता थियो । त्यो क्षेत्रको नेतै थियो । मलाई पनि बिगार्न खोजेका थिए । मलाई सकेनन्,’ उनले भने ।

‘तपाईहरूलाई त उहाँ (गगन)ले नछाड्ने नै हो । त्यही भएर हालत खराब भयो,’ नेता बस्नेतले भने, ‘अब म तपाईहरूलाई शुभकामा दिन चाहन्छु । यहाँ (काठमाडौं ४)को जनताले भोट दिँदैनन् म हार्छु भनेर भागेकै हो नि । त्यो हिस्सा म पनि हुँ एक जना । सिन्धुपाल्चोकका ९ हजार ६ सय जति मतदाता काठमाडौं ४ मा छन् ।’

बस्नेतले भने, ‘मैले उहाँहरूसँग धेरै सम्पर्क गरेको छु । कुरा गर्छ काम गर्दैन । बकमफुसे कुरा गर्छ, फोन पनि उठाउँदैन, भेट्न पनि मान्दैन भन्छन् । कपन एरियाका साथीहरूले हरेक वर्षात् लाग्यो भने हामी यो कपनबाट भाग्नु पर्ने हुन्छ । कपन डुब्छ । काम त्यस्तो । विकासको विषयमा प्रदेशबाट अलिकति ८/१० वटा योजना ल्याएको रहेछ साना साना, त्यो कुरा फेसबुकमा एक महिना जति हेरे मैले ।’

‘मैले सिन्धुपाल्चोकमा म कुनै त्योस्तरको नेता पनि होइन, ८ सय जति योजना मैले लगेको थिएँ । उहाँ (गगन)ले न विकास, न साथीभाइहरूसँग भेटघाट, न केही, त्यस कारणले उहाँ (गगन) यहाँबाट भाग्नु प¥यो,’ उनले भने, ‘भाग्नु पर्‍यो मात्रै होइन, मैले संसद भवन अगाडि धेरै पहिला गगन थापाजी प्रधानमन्त्री हुन सक्नु हुन्न भनेको थिएँ ।’

नेता बस्नेतले भने, ‘अहिले पनि प्रधानमन्त्री मिशनको कुरा गर्नुभयो । उहाँ (गगन) प्रधानमन्त्री बन्न खोज्नु भएको होइन भन्या । त्यो उहाँ (गगन)सँग क्षमता पनि छैन । इतिहासमा कहिल्यै पनि हुनुहुन्न । म आज पनि भनिदिन्छु । प्रधानमन्त्री हुनलाई त्यो गुण चाहिन्छ । त्यो हैसियत र औकात चाहियो, त्यो बानीव्यहोरा चाहियो ।’

‘आफूलाई बनाउनेलाई सधैभरि सिध्याएर आफू कसरी बन्छ ? उहाँ (गगन)ले प्रधानमन्त्रीको कुरा प्रधानमन्त्री हुन्छ क्यारे भनेपछि भोट अलिक बढि पाइन्छ भनेर प्रधानमन्त्रीको धुप हालेर प्रचार गरेकै हो,’ नेता बस्नेतले भने ।

‘एउटा महिला नेतृलाई अत्याधिक मतले जिताएको क्षेत्र हो, काठमाडौं ४ । यो क्षेत्रमा मुस्किलले चुनाव जितेको हो । पछिल्ला दिनमा हेर्नुस्, रास्वपाको भोटसँग साटेकै हो,’ बस्नेतले भने ।

‘चितवनमा दिएर यहाँ (काठमाडौं ४)मा लिएकै हो । कसले होइन भन्न सक्छ । उहाँ (गगन)ले नौटंकी गरेर चुनाव जितेको हो । अब त के भन्ने ? प्रधानमन्त्री बन्छु भन्दा त्यो पनि छैन । ढाँटेका कुरा कसले पत्याउने ?,’ नेता बस्नेतले भने ।

‘यतिसम्म कि विनोदबाबु प्रधानलाई राष्ट्रिय सभामा तिमलाई कन्फम भयो भनेर चिठी लेखेर दिएको थियो । मैले केन्द्रीय समितिको बैठकमा लगेर पढेर सुनाइ दिएँ । तपाई (गगन) यस्तो फटाहा हो । यस्ता चिठी तपाई (गगन)ले हजारौँलाई देशमा लेखेका छन् । होसियार पनि भनेको थिएँ, मैले,’ कांग्रेस नेता बस्नेतले भने ।

कार्यक्रममा कांग्रेसका नेताहरू नरोत्तम बैद्य, कल्याणी रिजाल, राजु श्रेष्ठ, जयकृष्ण महर्जन, सन्तोष भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2026 September 27, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया