आयोगद्वारा पूर्व प्रधानन्यायाधीश पक्राउको बिरोध, भेट्न अवरोध गर्ने प्रहरीलाई कारबाही गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गरेर आयोगका प्रवक्ता एवम् सहसचिव डा.टीकाराम पोखरेलले प्रहरीले जबरालाई पक्राउ गरेको घटनाका सम्बन्धमा अनुगमनका लागि आयोगका सदस्य नेतृत्वको उच्चस्तरीय टोली टेकुस्थित काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयमा पुगेको जनाएका छन् ।

‘सो क्रममा नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाइएको छ,’ विज्ञप्तिमा आयोगले भनेको छ, ‘अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा के कति कारणले आयोगको टोलीलाई अनुगमन गर्न नदिएको हो यस विषयमा समेत टोलीलाई जानकारी दिइएन ।’

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४, क मा आवश्यकता अनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने गराउने र मानव अधिकार संरक्षणको लागि त्यस्ता निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन सक्ने व्यवस्था उल्लेख छ ।’

‘उल्लिखित संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ,’ आयोगले भनेको छ ।

‘अतः निष्पक्ष छानविन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगका प्रवक्ता पोखरेलले भनेका छन् ।

काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, टेकुको प्रहरीले टोलीले शनिबार मध्यराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाट पूर्व प्रधानन्यायाधीश जबरालाई जबरजस्ती उठाएर लगेको थियो । जबरालाई क्राउ पुर्जी समेत दिइएको थिएन । जबराको पक्राउको चौतर्फी बिरोध भएपछि आइतबार दिउँसो प्रहरीले बाध्य भएर छाडेको छ ।

Published : Sunday, 2026 September 27, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया