पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ, के कसूरमा पक्राउ परेका हुन् खुलेको छैन
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन् ।
शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट जबरलाई प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ ।
जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले जबरा पक्राउबारे अनभिज्ञता प्रकट गरेका छन् । जबरालाई पक्राउ पुर्जी नै नदिएर माथिको आदेशभन्दै पक्राउ गरेको परिवाजनले गुनासो गरेका छन् ।
जबरा कुन कसूरमा पक्राउ गरिएको हो भन्ने चाँहि खुलेको छैन । जबरा पक्राउ पर्नुको कारणबारे प्रहरीका उच्च अधिकारीहरूसँग जानकारी माग गर्दा बोल्न मानेका छैनन् ।
जबराले २०७५ पुसदेखि २०७९ मंसिरसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनी सर्वोच्च अदालतका २९औँ प्रधानन्यायाधीश हुन् ।
प्रधानन्यायाधीश रहेका बेला उनीविरुद्ध न्यायपालिकाको नेतृत्व, न्यायाधीश नियुक्ति तथा विभिन्न विषयलाई लिएर विवाद र विरोध भएको थियो ।
२०७८ मा नेपाल बार एसोसिएसनसहितका कानून व्यवसायीले उनको राजीनामा माग्दै आन्दोलनसमेत गरेका थिए ।
त्यसपछि उनीविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो । महाभियोग सिफारिस समितिमा जबराले बयानसमेत दिएका थिए ।
२०७९ मंसिरमा प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाभियोग प्रस्ताव टुंगोमा पुग्न सकेन । त्यसपछि उनी सर्वोच्च अदालतबाट अवकाश भएका थिए ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया