महाधिवेशनका लागि देउवा पक्षको भव्य तयारी, १५ गतेदेखि वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशन गर्ने जनाएको छ ।

शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालय पत्रकार सम्मेलन गरेर नेता डा.प्रकाशशरण महतले मंसिर तेस्रो साता १५औँ महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिएका छन् । डा.महतले महाधिवेशनको पूर्वतयारीस्वरूप असोज १५ गतेदेखि वडा अधिवेशन शुरु हुने बताए ।

एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् ।

हालैको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भए पनि केन्द्रीय कार्यालयका तर्फबाट गर्नुपर्ने तयारीहरू अघि बढिरहेको नेता डा.महतले बताएका छन् ।

सम्भव भएसम्म स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन गराएको अनुभव भएका व्यक्तिहरूको सहयोग लिएर अधिवेशन छिटोछरितो रूपमा सम्पन्न गरिने नेता डा.महतले बताएका छन् ।

नवीकरण भएका तथा नयाँ प्राप्त क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइनेछ । छुटेका व्यक्तिहरूले पनि आवश्यक प्रक्रिया पूरा गरी असोज १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

नेता डा.महतले भने, ‘असोज १५ गतेबाट वडा अधिवेशन शुरु हुन्छ र केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ तर, सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आयो । त्यसैले अहिले आपत्कालीन मोडमा तयारी अघि बढाइएको छ ।’

निर्वाचन समितिमार्फत निर्वाचन अधिकृतहरू एक, दुई दिनभित्रै जिल्लाहरूमा पुग्ने डा.महतले बताएका छन् । वर्षाका कारण कुनै वडामा असोज १५ गते अधिवेशन सम्पन्न हुन नसकेमा सम्बन्धित निर्वाचन अधिकृतले जिल्ला संयोजन समिति र जिल्ला समितिसँगको सल्लाहमा आवश्यक निर्णय लिन सक्नेछन् । त्यस्ता वडाहरूमा स्थानीय परिस्थिति हेरेर असोज १६ वा १७ गतेसम्म अधिवेशन सम्पन्न गर्न सकिने नेता डा.महतले बताए ।

Published : Saturday, 2026 September 26, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया