क्षेत्र र जिल्ला अधिवेशन नहुँदै प्यूठान कांग्रेसमा विष्णुको रमिता, शिवलाई ‘टीके’ सभापति

बिजुवार । तथाकथित विशेष महाधिवेशन गरेर गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेपछि सर्वोच्च अदालतमा आधिकारिकताको मुद्दा बिचाराधीन रहेका बेला प्यूठान कांग्रेसमा भने प्रदेश सभा क्षेत्र र जिल्ला अधिवेशन नहुँदै सभापति विष्णुकुमार गिरीले टीका लगाएर सभापति दिने घोषणा गरेका छन् ।

प्यूठान कांग्रेसका जिल्ला सभापति गिरीले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर नेता शिवराज रिजाललाई सभापति दिने घोषणा गरेका छन् । क्षेत्र र जिल्ला अधिवेशन गर्नै बाँकी छ । अधिवेशनको कार्य पूरा नहुँदै गिरीले रिजाललाई किन शुरुमै ‘टीके’ सभापति घोषणा गरे प्रश्न उठेको छ । गिरी र रिजालबीच आन्तरिक जे सहमति भएपनि सभापति गिरी, निमा गिरी र डा.गोविन्दराज पोखरेल मिलेर रिजालमाथि ‘कु’ गर्न मिडिया ट्रायल त गरेका होइनन् ? त्यो प्रश्न पनि उब्जिएको छ ।

विज्ञप्तिमा सभापति गिरीले भनेका छन्, ‘नेपाली कांग्रेस प्यूठानको मैले नेतृत्व गर्दैगर्दा सहयोग पुर्‍याउने सम्पूर्ण पार्टी पंक्तिहरूमा हार्दिक आभार व्यक्त गर्दै आसन्न अधिवेशन पश्चात् पार्टीका नेता श्री शिवराज रिजालले नयाँ नेतृत्वको बागडोर सम्हाल्नु हुनेछ । त्यस क्षणसम्म पार्टीलाई सहि गन्तव्यमा पुर्‍याउन परिवर्तनको आभास दिलाउन मेरो बाँकी समयलाई पूर्णरुपले सहयोग गर्न सबैमा आग्रह गर्दछु ।’

गिरीको विज्ञप्तिको भाषामा वडा अधिवेशनबाट १४ सयभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन भएर आएको बताएका छन् । सभापति गिरीले ती १४ सयभन्दा बढी क्षेत्रीय प्रतिनिधि र सभापति पदका आकांक्षी नेताहरूको भावनामा ठेस लाग्ने गरेर रिजाललाई अग्रिमरुपमा ‘टीके’ सभापति घोषणा गरेपछि प्यूठान कांग्रेसभित्रै खैलाबैला भएको छ ।

प्यूठान कांग्रेसमा सभापतिसहितका पदाधिकारीका लागि विभिन्न नेताहरू आकांक्षी छन् । यामलाल पुन मगरले प्यूठान कांग्रेसको जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । पुनले सभापति पदमा मत मागेर प्रचार प्रसार गरिरहेका छन् । लोकतान्त्रिक र मित्रवत् प्रतिस्पर्धा गर्न पाउने कांग्रेसका नेता तथा कार्यकर्ताहरूको अधिकारलाई प्यूठान कांग्रेसका सभापति गिरीले बध्याकरण गरिदिएका छन् । रिजाललाई टीके सभापति बनाउने घोषणा गरेर १४ सयभन्दा धेरै क्षेत्रीय प्रतिनिधिहरूको भावनामाथि सभापति गिरीले खेलवाड गरेका छन् ।

गगन थापाको लास र दास अर्थात् बदलिएको २.० कांग्रेसको प्यूठानमा देखिएको ‘टीके’ सभापति प्रकरणले तथाकथित विशेष महाधिवेशनवालाहरूको उद्देश्य ठीक छैन भन्ने कुराको पुष्टि गरेको छ ।

तत्कालीन समयमा शेरबहादुर देउवा पक्षीय नेता रिजालले १४औँ महाधिवेशनका बेला गोलीकाण्ड गरेर सभापति बन्न खोजेका थिए । गगन थापा निकटका गिरीले त्यस बेला झिनो मतअन्तरबाट सभापतिमा निर्वाचित भएका थिए ।

तथाकथित विशेष महाधिवेशनबाट गगन थापाले नेपाली कांग्रेस हाइज्याक गरेपछि अहिले पार्टीभित्रको समीकरण परिवर्तनहरू भएका छन् ।

सभापति गिरीले क्षेत्रीय र जिल्ला अधिवेशनको कार्यक्रम केही पछाडि सारेर नेता रिजाललाई प्रेस विज्ञप्तिमार्फत् भावी सभापति र आफूले सभापति पद ‘टीका’ लगाएर दिने घोषणा गर्नुमा विभिन्न आशंकाहरू जन्माएको छ । गिरीले रिजाललाई ‘टीके’ सभापति बनाउने नै हो भने वर्षातको बहाना बनाएर अधिवेशन रोकेर दुई वटा अधिवेशन नहुँदै किन सभापति भनेका हुन् ? त्यसको जवाफ आउन बाँकी नै छ ।

सभापति गिरीले भनेका छन्, ‘निर्धारित अधिवेशनको तालिका पार्टीको आग्रहमा असोज ११ र १२ मा भारी वर्षाका कारण सरेको कुरा जानकारी गराउँदछौं । साथै यो अधिवेशनमा प्रदेश क्षेत्रहरूको क्षेत्रीय अधिवेशन र संघीय क्षेत्र अन्तर्गतको अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरूको छनौटका लागि अधिवेशनहरू हुनेछन् ।’

Published : Friday, 2026 September 25, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया