नवलपरासीमा देवेन्द्र र भरत समूहबीच झण्डै हातहालाहाल, नगर अधिवेशन बिथोलियो

बर्दघाट । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको अधिवेशनमा नवलपरासी जिल्लामा गगन थापा समूहकै दुई समूहबीच घम्साघम्सी भएपछि नगर अधिवेशन बिथोलिएको छ ।

नवलपरासीको सुनवल नगरपालिकामा बिहीबार भएको पालिका अधिवेशनमा देवेन्द्रराज कँडेल र भरत थापा समूहबीच घम्साघम्सी भएको हो । हातहालाहाल नभएपनि भरत र कँडेल समूहबीच धकेलाधकेल भएपछि अधिवेशनको कार्यक्रम बिथोलिएको प्रत्यक्षदर्शीले बताए ।

हानाहान गर्न थालेपछि नगर अधिवेशनस्थलमा प्रहरी प्रवेश गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले स्थिति सम्हालेपछि दुबै पक्षबीच ठूलो झडप हुन सकेन ।

बिहीबार सुनवल नगरपालिका वडा नं. १ सोमनाथस्थित बाल उत्थानको सभाहलमा नेपाली कांग्रेसको नगर अधिवेशनअन्तर्गत नगर सभापति निर्वाचनका लागि छलफल भइरहेका बेला देवेन्द्र समूह र भरत समूहबीच घम्साम्सी भएको दुबै पक्षले दाबी गरेको छ ।

भरत र देवेन्द्र समूहबीच विवाद भएपछि सुनवल नगर अधिवेशन एवम् छलफल स्थगित भएको छ । अधिवेशनको कार्यक्रममा करीब ३०० जनाको उपस्थिति रहेको सहभागीहरूले बताएका छन् ।

पूर्व मेयर भरत थापा र पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल दुबै शेरबहादुर देउवा पक्षलाई छाडेर गगन थापासँग भाग पाउने होडबाजीमा तथाकथित विशेष महाधिवेशनतिर केही दिन अगाडि मात्रै लागेका थिए । बरु भरत थापा पहिला नै तथाकथित विशेष महाधिवेशनतिर खुलेका थिए । देवेन्द्रराज कँडेल भने एक हप्ता अगाडि मात्रै गगन समूहतिर लगेका थिए ।

Published : Friday, 2026 September 25, 7:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया