गगनलाई साथ दिएर अध्यावधि गरेकी सुमित्राको क्रियाशील सदस्यता सानेपाबाटै गायब, यहीँ बिट मार्न बाध्य भए
काठमाडौं । नेपाली कांग्रेसमा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सुमित्रा थिङको क्रियाशील सदस्यता सानेपाबाट हटाइदिएका छन् ।
नेपाली कांग्रेस र सानेपा हाइज्याक गरेर बसेका गगन थापा समूहले क्रियाशील सदस्यता हटाइदिएपछि थिङले कांग्रेस परित्याग गरेको घोषणा गरेकी छिन् । नेतृ थिङले गगन समूहले भनेअनुसार क्रियाशील सदस्यता अध्यावधि समेत गरेकी थिइन् । उनले कांग्रेसबाट बिट मारेको बताउँदै साथ दिनेहरूप्रति सद्भाव व्यक्त गरेकी छिन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १ बाट वडा सदस्य हुँदै जिल्ला समन्वय समिति सदस्य रहेकी थिङको क्रियाशील सदस्यता नै गगन थापा समूहले सानेपाबाट हटाइदिएको हो । तथाकथित विशेष महाधिवेशनलाई स्वीकार गरेर नेतृ थिङ वडा अधिवेशनमा सहभागी हुन पुगेकी थिइन् । तर, वडा अधिवेशनमा सहभागी हुन पुगेका बेला क्रियाशील सदस्यता नै नभएपछि निराश भएर फर्किएकी छिन् ।
सामाजिक सञ्जाफमार्फत् जारी प्रेस नोटमा कांग्रेस नेतृ थिङले लेखेकी छिन्, ‘लासो फ्याफुल्ला, नमस्कार । हिजो आफ्नै आँखाले क्रियाशीलको लिस्टमा देखेको आफ्नो नाम आज रातारात अर्को लिस्ट निकालेर क्रियाशीलको लिस्टमा नाम छैन, त्यसैले तपाईको क्षेत्रीय प्रतिनिधि रद्द हुने भयो भन्ने खबर आएपछि यस्ता षड्यन्त्रकारी, हरिया विषालु सर्पहरूको बीचमा आत्मसम्मान बन्धकी राखेर बसिरहन मेरो नैतिकताले दिएन । त्यसैले यो निर्णयमा पुग्न बाध्य छु ।’
‘म हिजो पनि अरूले थुकेर फालेको वडा सदस्यको टिकट, ‘लौ बहिनी, तिमीले समाइदिनुपर्यो’ भन्दा मैले सम्मानपूर्वक त्यो टिकट समातेर पार्टीलाई आफ्नो वडामा जिताएर आएको मान्छे थिएँ,’ उनले भनिन् ।
‘दोस्रो पटक पनि अरूकै अनुरोधमा ‘तिमी हुनुपर्छ’ भन्ने कुरा आएपछि त्यो टिकटको पनि सम्मान गरेर जितेर आएको हुँ,’ नेतृ थिङले भनेकी छिन् ।
‘हिजोको दिनमा कसैले डोर्याएको कारण म कांग्रेस भएको पनि होइन । मलाई सिद्धान्त मन परेर आफैँ आएकी हुँ,’ नेतृ थिङले भनेकी छिन्, ‘त्योभन्दा अगाडि म कुनै राजनीतिक दलमा आबद्ध पनि थिइनँ ।’
उनले भनेकी छिन्, ‘अझै केही त्यस्ता कुराहरू छन्, जसको कारण मैले व्यक्तिगत रूपमा मानसिक चोट झेलेकी छु । तथापि, म चाहन्छु, मलाई बोल्न बाध्य नबनाइयोस् । सम्बन्धितसँग मेरो आग्रह छ । मेरो संयमतालाई कमजोरी सोँच्ने भूल नहोस् ।’
‘बाँकी…राजनीतिको नाममा पाएका साथ र पाठ दुबै मेरो जीवनको अमूल्य सिकाइ र अनुभवहरू हुन् भनेर सकारात्मक रूपमा लिँदै, सिद्धिने र सिद्ध्याउने खेलका मास्टर प्लानर्सहरू हुञ्जेल यो क्रम जारी नै रहनेछ । रहोस्, शुभकामना भन्न चाहन्छु,’ उनले भनेकी छिन् ।
‘यो कालो खेलका निम्ति तपाई सम्पूर्ण खेलाडीहरूलाई हार्दिक धन्यवाद दिँदै, मलाई आजको दिनसम्म सच्चा मनले साथ दिनुहुनेहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै नेपाली कांग्रेसको राजनीतिलाई यहीँ बिट मार्न बाध्य भएको जानकारी गराउँछु,’ नेतृ थिङले भनेकी छिन् ।
‘माफ गर्नुस्, गगन दाइ । मैले आफ्नो आत्मसम्मान रोजेँ । म जहाँ भए पनि हजुरप्रतिको सम्मान कदापि घट्ने छैन । अल्बिदा,’ नेतृ थिङले भनेकी छिन् ।
गगन थापा समूहले देशभरि नै आफूलाई मन नपर्ने नेता र क्रियाशील सदस्यहरूको नाम हटाउने हर्कत गर्दै आएका छन् । धेरै ठाउँमा गगन समूहले क्रियाशील सदस्यता अध्यावधि गराउँदा समेत हटाएका घटनाहरू बाहिर आएका छन् ।

बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया