सीआईबीद्वारा १ अर्बभन्दा ठूलो हुण्डीको कारोबारमा संलग्न ज्योति शाहीलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १ अर्ब ३ करोडभन्दा धेरै रकम हुण्डी कारोबारमा संलग्न ज्योति शाहीलाई पक्राउ गरेको छ ।

बिहीबार सीआईबीका प्रवक्ता समेत रहेका एसएसपी अनुपमशम्शेर जबराद्वारा प्रेस विज्ञप्तिअनुसार सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ निवासी शाहीलाई हुण्डी कारोबार गरेको अभियोग पक्राउ गरिएको हो । शाहीले विभिन्न बैंक र वित्तीय संस्थाहरूमा खाता खोलेर विदेशबाट रकम अनौपचारिक रुपमा भित्र्याएको आरोप सीआईबीले लगाएको छ ।

शाहीले घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सनुसरीमा शाही मनि ट्रान्सफर समेतको नामबाट कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक लगायत ५२ वटा बैंक तथा वित्तीय संस्थाहरूमा बैंक खाता खोली ती खाताहरूको प्रयोग गरेर करीव १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपियाँ विभिन्न असम्बन्धित व्यक्तिहरूले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यममार्फत् स्वदेशमा स–साना भाग बनाई कनेक्ट आईपीएस लगायत अन्य विद्युतीय डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिहरूको खातामा रकम हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ ।

असोज ६ गते सुनसरी जिल्ला अदालतबाट अनुमति लिएर सीआईबीको प्रहरी टोलीले शाहीलाई असोज ८ गते धरान उपमहानगरपालिका वडा नं. ५ खैरेनीबाट पक्राउ गरिएको एसएसपी जबराले बताएका छन् ।

Published : Thursday, 2026 September 24, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया