ओखलढुङ्गामा गगन समूहले मान्छे नभेटाएपछि वडा अधिवेशनबाट सरकारी कर्मचारीलाई बनाए क्षेत्रीय प्रतिनिधि

सुनकोशी । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका सरकारी कर्मचारी गगन थापा नेतृत्वको नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका छन् ।

सुनकोशी गाउँपालिका वडा नं. १ को वडा अधिवेशनबाट अशोककिरण लुइटेल क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् । सरकारकी कर्मचारी भएर पनि अशोक कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेपछि स्थानीय नेता तथा कार्यकर्ताहरू रिसाएका छन् ।

गगन समूहको कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका अशोक सुनकोशी गाउँपालिकाका भेटनरीको चौथो तहका सरकारी कर्मचारी हुन् । अशोक वडा नं. १ को वडा कार्यालयमा कायरत छन् ।

सरकारी कर्मचारी, शिक्षकलाई कुनै पनि राजनीतिक दलको सदस्यता वा कुनै पनि पदमा बस्न नपाइने कानूनी व्यवस्था छ । तर, अशोक भने आफ्नो काका नाता पर्ने कुमार लुइटेलको पावर लगाएर कांग्रेसको सर्वसहमतिमा क्षेत्रीय प्रतिनिधि बनेका छन् ।

सुनकोशी गाउँपालिकाका वडा नं. १ का वडा सचिव प्रकाश सापकोटाले अशोक नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेको विषय आफूलाई जानकारी नरहेको बताए । उनले यो विषयमा अशोशसँगै जानकारी लिन आग्रह गरे ।

सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले अशोककिरण लुइटेल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि भएको विषय आफूलाई जानकारी नरहेको बताउँदै सरकारी कर्मचारी कुनै पनि राजनीतिक दलको सदस्य वा पदमा बस्न नपाइने व्यवस्था रहेको बताए । उनले अशोकका विषयमा उठेको कुरामा जानकारी लिने प्रतिक्रिया दिएका छन् ।

तथाकथित विशेष महाधिवेशन गरेर गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका छन् । सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकताको मुद्दा बिचाराधीन छ । मुद्दा बिचाराधीन रहेका बेला गगन थापाले एकलौटी रुपमा अधिवेशनको कार्यक्रमहरू शुरु गरेका छन् ।

गगन समूहको अधिवेशनमा देशभरि नै उत्साह छैन । स्थानीय नेता तथा कार्यकर्ता र क्रियाशील सदस्यहरू नै वडा अधिवेशनमा सहभागी भइरहेका छैनन् ।

वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमितिमा बस्न मान्छे नभेटिएपछि सुनकोशी गाउँपालिका वडा नं. १ मा जस्तै देशका धेरै वडाहरूमा अन्य दलका कार्यकर्ता, सरकारी कर्मचारी, शिक्षक लगायतलाई राख्ने गरिएका घटना आइरहेका छन् ।

Published : Tuesday, 2026 September 22, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया