गगनको अहँकार, दम्भ र घमण्डले कांग्रेसमा विभाजनको रेखा कोरे, वडा अधिवेशनले नराम्रोसँग हावा खायो

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशनबाट पार्टी कब्जा गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाको गतिविधिले कांग्रेसमा विभाजनको रेखा कोरिएको छ ।

शेरबहादुर देउवा पक्ष पार्टीमा बृहत एकता, मेलमिलाप, सहमति र सहकार्यका लागि लचक बनेर अपमान सहेर सर्वोच्च अदालतमा पुनरावलोकनको निवदेन लिएर गएको छ । देउवा पक्ष कांग्रेस मिलाउन निरन्तर प्रयासरत छ । देउवासहितका नेता डा.शेखर कोइरालाले पार्टी मिलाउन निरन्तर सम्वाद अगाडि बढाए पनि गगनको अहँकार, घमण्ड र दम्भले पार्टीमा विभाजनको रेखा कोरिएको छ ।

गगन थापाले शनिबारदेखि वडा अधिवेशन गरेर देशभरि विभाजनको रेखा कोरेका छन् । झण्डा आधा क्रियाशील सदस्यहरू गगनको अधिवेशनमा सहभागी भएका छैनन् । ७५ प्रतिशत स्थानमा आवश्यक गणपूरक संख्या समेत नपुगेपछि कोठाभित्र कागजीरुपमा सर्वसहमतिमा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि बनेको भनेर नौटंकी भएका छन् ।

नेपाली कांग्रेसको वडा अधिवेशन शुरु हुँदा विगतमा उत्सवका रुपमा हुने गरेका थिए । छिटफुट वडामा बाहेक अधिकांश वडाहरूमा लोकतान्त्रिक रुपमा मित्रवत प्रतिस्पर्धा हुने गरेका थिए । तर, गगनको अहँकार, घमण्ड र दम्भका कारण वडा अधिवेशन निकै निराशाजनक अवस्थामा सम्पन्न भएका छन् ।

सिङ्गो देउवा पक्ष गगनको वडा अधिवेशनमा बाहिर बसेको छ । देउवा पक्ष बाहिर बसेपछि गगनको बिचल्ली हुनु स्वभाविक नै थियो ।

तथाकथित विशेष महाधिवेशनबाट महामन्त्री घोषणा गरिएका प्रदीप पौडेलले आइतबार बिहानी एउटा एफएमसँगको अन्तर्वार्तामा ८० प्रतिशत वडाहरूमा सर्वसहमतिमा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति गठन गरिएको बताएका छन् । पौडेलले नै स्वीकार गरेका छन् वडाहरूमा गगन थापाको बिचल्ली भएको कुरा । कांग्रेसका बिगतका वडा अधिवेशनको तथ्याङ्क त्यही सानेपामा छ । तथ्याङ्क खोलेर हेरे पुग्छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । कांग्रेसको नेतृत्वमा आउन धेरैको इच्छा हुन्छ । त्यसका लागि वडामा मित्रवत् लोकतान्त्रिक प्रतिस्पर्धा हुने गरेका थिए । गगन थापाले कम्युनिस्टको शैलीमा वडा अधिवेशन गराएका छन् ।

गगन थापा मात्रै होइन उनलाई साथ दिएका देशभरिका नेता तथा कार्यकर्ताहरू पनि शनिबारको वडा अधिवेशनबाट निकै निराश छन् । वडा अधिवेशनमा बिचल्ली भएपछि गगन थापाको मनमा शान्ति छैन । बेचैन मन लिएर गगन थापाले गतिविधि गरिरहेको उनी निकटका नेताहरूले बताएका छन् ।

वडा अधिवेशन गर्नु मात्रै सफलता होइन । अधिवेशन गर्दा कांग्रेसका लाखौँ नेता तथा कार्यकर्ताको मनमा खुसी हुनुपर्छ । क्षणिक रुपमा अधिवेशन भयो होला तर, त्यसले कांग्रेसलाई एकजुट होइन, बिभाजन गरेको छ ।

गगन थापको वडा अधिवेशनमा ठाउँ ठाउँमा नक्कली कांग्रेसीहरू कुटिएका छन्, धेरै ठाउँमा बहिस्कार भएका छन् । यस्तो बेहाल अवस्था कांग्रसमा आउँछ भनेर देशभरिका नेता तथा कार्यकर्ताले कहिल्यै पनि सोँचेका थिएनन् ।

Published : Sunday, 2026 September 20, 6:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया