प्रधानमन्त्रीको नाम दुरुपयोग गर्ने गगन निकट कांग्रेस नेता भरत र सञ्चारकर्मी बालिकालाई सीआइबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रधानमनत्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरि ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रबार सीआईबीका एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा ५९ वर्षीय भरत चौलागाई र ३२ वर्षीया बालिका सिवाकोटी रहेकी छिन् ।

भरत रामेछापेको सुनापति गाउँपालिका वडा नं. १ घर भएका हुन् भने बालिका दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ८ घर भएकी हुन् ।

पक्राउ परेका भरत नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत छन् । गगन थापा निकट मानिने भरत तथाकथित विशेष महाधिवेशनवालाहरूको अधिवेशनमा सहभागी हुन रामेछाप गएका बेला बिहीबार सीआईबीले पक्राउ गरेको थियो । बालिकालाई भने सीआईबीले काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । बालिका काठमाडौंबाट सञ्चालन हुने एक टेलिभिजनकी सञ्चारर्की हुन् ।

भरत र बालिकाले नेपालबाट ईजरायलमा केयर गिभरको लागि कामदार लैजाने भनि नेपाल सरकार र ईजरायल सरकारबीच भएको सरकार–सरकारबीच (जी टू जी) सम्झौता बमोजिम बैदेशिक रोजगारीको लागि नेपालबाट ईजरायल पठाउन नेपाल सरकारले सन् २०२४ मा लिएको परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये ईजरायल जान लक्की ड्रमा नपरेका मध्ये १५६ जना व्यक्तिहरूलाई भरत तथा बालिका समेतका व्यक्तिहरूले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरि प्रतिव्यक्ति ६ लाख २० हजार लिइ ईजरायल पठाइदिन्छु भनेर ठगी गरेको सीआईबीले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

पीडितहरूसँग भरत र बालिकाले दुई करोड ५० लाख लिएर बेइमानी पूर्वक ठगी गरेको जाहेरी परेपछि भरत र बालिकालाई सीआईबीको टोलीले असोज १ गते पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भरत र बालिकालाई सीआईबीले काठमाडौं जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०४७ को परिच्छेद २१ को ठगी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको सीआईबीले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

Published : Friday, 2026 September 18, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया