अवैधानिक विशेष महाधिवेशन किन गरियो भन्ने प्रश्नको जवाफ नेता तथा कार्यकर्ताहरूले खोजेका छन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवाले अवैधानिक विशेष महाधिवेशन किन गरियो भन्ने प्रश्नको जवाफ आम नेता तथा कार्यकर्ताहरूले पाउन नसकेको बताएका छन् ।

मंगलबार अपील जारी गरेर देउवाले भने, ‘अवैधानिक विशेष महाधिवेशन किन गरियो भन्ने प्रश्नको जवाफ आजसम्म आम नेता–कार्यकर्ता र नेपाली जनताले पाउन सकेका छैनन् ।’

‘पार्टीका अनुभवी नेतृत्वबाट निर्वाचन जित्न सकिँदैन भन्ने दुष्प्रचार गर्दै विशेष महाधिवेशन गर्नेहरूले निर्वाचन परिणामबाट समेत कुनै पाठ सिक्न नसक्नु कांग्रेस निर्माणको होइन, कांग्रेसलाई कमजोर बनाउने प्रवृत्तिको परिचायक हो,’ देउवाले भने ।

‘आज म यस अपील मार्फत् नेपाली कांग्रेसभित्र देखिएको वर्तमान परिस्थितिका विषयमा आफ्नो धारणा स्पष्ट गर्न चाहन्छु’, उनले भने, ‘पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र असमझदारीप्रति म गम्भीर रूपमा चिन्तित छु ।’

‘पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत अवैधानिक रूपमा विशेष महाधिवेशन गर्ने समूहले कथित १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी एकपक्षीय ढंगले अघि बढ्न खोजेको देखिन्छ,’ देउवाले भने ।

‘पार्टी निर्माणमा लामो समयदेखि योगदान पुर्‍याएका तथा लामो संघर्ष र बलिदानबाट स्थापित भएका नेता तथा बहुसंख्यक सदस्यहरूलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास नेपाली कांग्रेसको हितमा कदापि हुन सक्दैन,’ देउवाले भने, ‘न त यसले त्यसरी अघि बढ्न खोज्ने व्यक्तिहरूकै दीर्घकालीन हित सुनिश्चित गर्न सक्छ ।’

‘अवैधानिक विशेष महाधिवेशन आवश्यकता र त्यसपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले विशेष महाधिवेशन पक्षधर नेतृत्वले गरेको लोकप्रियताको दाबीलाई असत्य सावित गरिसकेको छ,’ देउवाले भने ।

Published : Tuesday, 2026 September 15, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया